सूर्या लाइफको खुद बीमा शुल्क ४२ करोड रुपैयाँ |
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४१ करोड १९ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ६ करोड २३ लाख रुपैयाँले बढी हो । यस सस्था ७० प्रतिशत हकप्रद निष्कासनको तयारीमा रहेको छ ।
गत आर्थिक वर्षको यस अवधिमा ३४ करोड ९६ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो । कम्पनीले कुल बीमा शुल्क भने ४२ करोड ९३ लाख रुपैयाँ आर्जन गरेको छ । यस्तै लगानी कर्जा तथा अन्यवाट १० करोड रुपैयाँ र बीमालेख धितोमा २७ करोड २८ लाख रुपैयाँ लगानी गरी ६३ लाख रुपैयाँ व्याज आम्दानी गरेको हो ।
यस अवधिमा कम्पनीले ६ करोड ३२ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको यस अवधिमा कम्पनीले ५ करोड २२ लाख रुपैयाँ खुद नाफा गरेको थियो । कम्पनीले ३८० कुल दाबीका लागि ५ करोड २३ लाख रुपैयाँ भुक्तानी गरेको छ भने २३१ दावी वापत एक करोड २१ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ ।
कम्पनीको चुक्ता पूँजी १ अर्ब १३ करोड रुपैयाँ छ । बीमा समितिले तोकेको न्यूनतम २ अर्ब चुक्ता पूँजी कायम गर्न ७० प्रतिशत हकप्रद निष्काशनको लागि धितोपत्र बोर्डमा कम्पनीले आबेदन दिएको छ । चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी १ अर्ब ९२ करोड ४२ लाख रुपैयाँ पुग्नेछ ।
यस्तै जगेडा कोषमा ३९ करोड ९ लाख रुपैयाँ, जीवन बीमा कोषमा ३८ करोड ९२ लाख र महा विपत्ति जगेडा कोषमा ५ करोड ९६ लाख रुपैयाँ संचित गरेको छ ।
कम्पनीको प्रति शेयर आम्दानी २२ रुपैयाँ ३६ पैसा, प्रति शेयर नेटवर्थ १३९ रुपैयाँ ८१ पैसा र मूल्य आम्दानी अनुपात २३।७० गुणा बढी छ ।