पर्यटन बोर्डको नेतृत्वमा २१ ओटा संस्था ‘साटे’मा सहभागी |
काठमाडौं । नेपालको पर्यटन प्रर्वद्धन गर्न नेपाल पर्यटन बोर्डले बुधबारदेखि भारतमा शुरु भएको साउथ एशियाज ट्रावल एण्ड टुरिजम एक्सचेन्ज (साट्टे)मा सहभागिता जनाएको छ । २०७९ जेठ ४ देखि ६ गतेसम्म तदनुसार २०२२ मे १८ देखि २० तारिख सम्म भारतको गे्रटर नोयडामा आयोजना हुने उक्त कार्यक्रममा बोर्डको नेतृत्वमा नेपाल वायुसेवा निगम सहित विभिन्न २१ ओटा कम्पनी सहभागी रहेका छन् ।
साट्टेलाई भारत सरकार, पर्यटन मन्त्रालयको सहयोगमा हुने दक्षिण एशियाको महत्वपूर्ण पर्यटन एक्सचेन्ज मेलाका रुपमा लिने गरिन्छ । कोरोना महामारी (कोभिड–१९) ले थलिएको पर्यटन प्रर्वद्धनका लागि पहिले छिमेकी मुलकका बजारमा जाने रणनीति अनुरुप बोर्डले साटेमा सहभागिता जनाएको नेपाल पर्यटन बार्डका कार्यकारी प्रमुख (सिइओ) डा. धनन्जय रेग्मीले जानकारी दिए । ‘
भारत नेपालको प्रमुख पर्यटन स्रोत बजार हो । बोर्डले साट्टेसंगसँगै क्रसबोर्डर टुरिजम प्रर्वद्धनका लागि समेत काम गरेकोले यी सबै गतिबिधीले भारतीय पर्यटक आगमनमा बृद्धि हुने र नेपालको प्रर्वद्धन हुने हाम्रो अपेक्षा छ ।’ उनले भने । कोभिडको सक्रमण कम हुँदै जाँदा विश्वभर पर्यटन चलायमान हुन थालेको बताउँदै उनले पर्यटन बोर्डले भारतीय पर्यटकहरुलाई नेपालमा आर्कषित गर्न सीमा क्षेत्र, हिल स्टेशन तथा अन्य पर्यटकीय स्थलहरुका छुट्टाछुट्टै रणनीतिको आवश्यकता पहिचान गरि सोही अनुरुपको रणनीति समेत बनाएको समेत जानकारी दिए ।
साट्टेमा पर्यटनसँग सम्बन्धित क्षेत्रीय तथा अन्तरराष्ट्रिय पर्यटन उद्योग, बिक्रेता र पर्यटनसँग सम्बन्धित संघ संस्था तथा व्यक्तित्वहरुको सहभागिता रहेकोेले यो प्लेटफर्म नेपालको पर्यटन प्रर्वद्धनमा सहयोगी हुने कार्यक्रमममा सहभागी नेपाल बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । नेपालले सन २०२१ को मार्च २४ देखि २६ तारिखसम्म तथा २०२० मा जनवरी ८ देखि १० तारिखमा भारतको गे्रटर नोयडामै आयोजना भएको साटेमा समेत सहभागीता जनाएको थियो । गत वर्ष नेपालबाट विभिन्न ३६ वटा संस्था कम्पनीहरुले सहभागीता जनाएका थिए । भारतीय बिक्रेतालाई विभिन्न प्याकेज मार्फत आर्कषित गरिने निजी क्षेत्रका सहभागीको धारणा छ ।