विमानस्थलमा १ अर्ब ६ करोडको लागतमा थप दुई नयाँ पार्किङ वे बन्दै | अबको पाँच महिनामै सकिने, पार्किङको चाप केही हदसम्म कम हुने विश्वास
काठमाडौं । जहाज पार्किङमा समस्या भोग्दै आएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले दुई नयाँ पार्किङ वे थप्ने भएको छ । विमानस्थलले विमानस्थल विकास कोष (एडीएफ) को रू. १ अर्ब ६ करोडको लागतमा ‘रिमोट पार्किङ वे’ र ‘पार्किङ वे’ निर्माण गरिरहेको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जानकारी दिएको हो ।
अबको पाँच महीनामा निर्माण कार्य सकिने गरी विमानस्थलको उत्तरपूर्वतर्फ र दक्षिणपश्चिम क्षेत्रमा पाँच÷पाँचवटा विमान अट्ने गरी दुईवटा पार्किङ वे निर्माण भइरहेको छ । निर्माणाधीनमध्ये उत्तरपूर्वतर्फको ‘रिमोट पार्किङ वे’ निर्माणमा रू. ४७ करोड र दक्षिणपश्चिमतर्फको ‘पार्किङ वे’ निर्माणमा रू. ५९ करोड खर्च हुने विमानस्थलले बताएको छ । विमानस्थलका अनुसार उत्तरपूर्वतर्फ दुईवटा वाइड बडी जहाज र तीनवटा साना (एटीआर) जहाज तथा दक्षिणपश्चिमतर्फ दुईवटा वाइड बडी र तीनवटा एटीआर जहाज राख्न सकिनेछ ।
विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीका अनुसार उत्तरपूर्वतर्फको रिमोट पार्किङ–वे आगामी फागुनभित्र सम्पन्न हुनेछ भने दक्षिणपश्चिमतर्फको पार्किङ वैशाखभित्र पूरा गर्नेगरी काम अघि बढेको छ । पार्किङको निर्माण सम्पन्न भएपछि विमानस्थलको बढ्दो चाप केही हदसम्म न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।
हाल विमानस्थलमा अन्तरराष्ट्रिय पार्किङका लागि नौवटा विमानको क्षमता छ । जसमा तीनवटा वाइड बडी ए ३३० र बाँकीमा एयरबस ३२० जहाज पार्किङ गर्न सकिन्छ । रिमोट पार्किङ–वे विमानस्थलको मुख्य पार्किङ–वेभन्दा टाढा निर्माण गरिने वैकल्पिक पार्किङ भएकाले विमानमा बम विस्फोट वा आतंककारी गतिविधिको शंका भए उक्त विमानलाई त्यो स्थलमा पार्किङ गरिन्छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तीनवटा नेपालीसहित ३१ वटा अन्तरराष्ट्रिय वायुसेवा प्रदायक कम्पनीले अन्तरराष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ अहिले ३० वटा विमान पार्किङ गर्न सकिन्छ । अहिले हेलिकोप्टरसहित २० वटा वायुसेवा प्रदायक कम्पनीले आन्तरिक उडान गरिरहेका छन् ।