देशभर स्थानीय तहको निर्वाचन हुँदै,६५ वटा दलहरु प्रतिस्पर्धामा |
काठमाडौं । आज बैशाख ३० गते, शुक्रबार देशभर स्थानिय तहको निर्वाचन हुँदैछ। मतदाताहरुले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न पाउनेछन्।
आज देशभरका ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी कुल ७५३ स्थानिय तहमा एकैसाथ निर्वाचन हुँदैछ। यस दिन स्थानिय तहबाट ३५ हजार २२१ उम्मेद्वार निर्वाचित हुँदैछन्। जसमध्ये ३५३ उम्मेद्वार निर्विरोध निर्वाचित भइसकेका छन्।
आजको यस स्थानीय तह निर्वाचनमा भाग लिन दर्ता भएका ७९ राजनीतिक दलहरुमध्ये जम्ममा ६५ वटा दलहरु प्रतिस्पर्धा गर्दैछन्। यस दिन ५५ हजार ६९८ महिला र ८९ हजार ३१३ पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेद्वार गरी जम्मा १ लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा रहेको आयोगले बताएको छ।
निर्वाचन आयोगका अनुसार यस दिन १ करोड ७७ लाख ३३ हजार ७२३ योग्य मतदाताहरुले मतदान गर्न सक्नेछन्।
आयोगले १० हजार ७५६ मतदान स्थलहरु कायम गरेको छ। जहाँ मतदाताले मतदान गर्न पाउनेछन्। निर्वाचनमा करीव २ लाख पचास हजार सुरक्षाकर्मी परिचालित छन् ।
यस अघि वि.सं. २०७४ सालमा तीन चरणमा निर्वाचन भएको थियो। सो समयमा १ करोड ४० लाख मतदाताले मतदान गरेका थिए।
नेपालमा वि.सं. २००४ साल जेठ २९ गते भएको काठमाडौँ नगरपालिकाको निर्वाचनलाई देशको पहिलो निर्वाचन मानिँदै आएको छ।
क–कसले मतदान गर्न सक्छन्?
स्थानिय तहको निर्वाचनमा १८ वर्ष उमेर पुरा भएका नेपाल नागरिकले मतदान गर्न पाउने व्यवस्था छ। आयोगले बैशाख २९ गतेसम्म १८ वर्ष पुरा भएका मतदाताले आजको निर्वाचनमा मतदान गर्न सक्नेछन्।
१८ वर्ष पुरा हुँदैमा मतदान गर्न पाउछ भन्ने छैन। मतदान गर्न योग्य हुनका लागि निर्वाचन आयोगले संकलन गरेको मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्छ। यसका साथै मतदाता परिचय पत्र पनि आवश्यक पर्दछ।
मतदाता परिचय पत्र नभएका आयोगको नामावलीमा नाम भएकाले फोटो टाँसिएका सरकारी पहिचान खुल्ने कागजातका आधारमा मतदान गर्न सकिने व्यवस्था मिलाइको छ। अर्थात परिचय पत्र नभएका मतदाताले नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी (पासपोर्ट) वा जग्गाधनी प्रमाण पूर्जाको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन्।
आयोगका अनुसार स्थानिय तहको निर्वाचनमा आफ्नो मतदाता नामावली दर्ता भएको स्थानिय तहबाट मात्र मतदान गर्न सक्नेछन्। आफ्नो नाम कुन मतदान केन्द्रमा छ भन्ने थाहा पाउन निर्वाचन आयोगको वेबसाइटबाट हेर्न सकिनेछ।
यस दिन मतदानको कार्य सम्पन्न नभएसम्मका लागि सबै अन्तरराष्ट्रिय सीमाबाट हुने आवतजावतमा आयोगले रोक लगाएको छ। यसका साथै आन्तरिक रुपमा सञ्चालन हुने सबै प्रकारका यातायात पनि बन्द गर्न आयोगले निर्देशन दिएको छ। उम्मेद्वार र अत्यावश्यक सेवाका लागि सवारी आवागमन अनुमतिको मापदण्ड जारी गरिएको छ। यसका साथै मतदानको कार्य सम्पन्न नभएसम्मका लागि स्थानीय प्रशासनको समन्वयमा तोकेको क्षेत्रमा मादक पदार्थको बिक्री वितरण र सेवान गर्न पनि निषेध गरिएको छ।