सूर्योदय लघुवित्तको खुद नाफा ५५ लाख | शेयरधनीलाई ४२.७५ प्रतिशत बोनस शेयरका साथै ५० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव
काठमाडौं । सूर्योदय लघुवित्तले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सूर्योदय लघुवित्तले ५५ लाख ४५ हजार खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यहि अवधिको तुलनामा ७ लाख ७२ हजार रुपैयाँले बढी हो । गत आर्थिक वर्षको यस अवधिमा लघुवित्तले ४७ लाख ७३ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
पूँजी वृद्धिको अनुपातमा कमाई बढाउन नसक्दा प्रतिशेयर आम्दानीमा भारी गिरावट आएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४७ रुपैयाँ ७३ पैसा रहेको प्रतिशेयर आम्दानी चालू आर्थिक वर्षको पहिलो त्रैमासमा २० रुपैयाँ ५५ पैसामा झरेको छ ।
लघुवित्तले यस अवधि सम्ममा चुक्ता पूँजी ४ करोडबाट १० करोड ७९ लाख रुपैयाँ पुर्याएको छ । लघुवित्तको पूँजी बढेको अनुपातमा खुद नाफा बढ्न नसकेको हो । जसका कारण लघुवित्तको प्रतिशेयर आम्दानीमा संकुचन आएको छ । यसले लगानीकर्ताले पाउने प्रतिफल क्षमता कमजोर बनेको देखाउँछ । यस्तै जगेडा कोषमा ५ करोड ४७ लाख रुपैयाँ सञ्चित छ ।
असोज मसान्तसम्ममा लघुवित्तले ४३ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरेर ९५ करोड ८० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । लघुवित्तले ५८ करोड ६० लाख रुपैयाँ सापटी समेत लिएको छ । यस अवधिमा कम्पनीले ४ करोड ५२ लाख व्याज आम्दानी तथा २ करोड ३३ लाख रुपैयाँ व्याज खर्च गरी २ करोड १८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । लघुवित्तको निष्कृय कर्जा अनुपात १.१९ प्रतिशत रहेको छ भने प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ७१ पैसा छ ।
त्यस्तै संस्थाको बिहीबार बिहान बसेको सञ्चालक समिति बैठकले शेयरधनीलाई ४२.७५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । बोनस शेयरको कर प्रयोजनका लागि छुट्टै २.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि गरेको छ । सञ्चालक समिति बैठकले बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय समेत गरेको छ ।