नेपाल वायुसेवा निगम उच्च जोखिममा रहेको खुलासा | जोखिम कम गर्न निगमले सरकारसँग माग्यो तत्कालै आर्थिक सहायता
काठमाडौं । नेपाल वायुसेवा निगमले सरकारसँग तत्कालै आर्थिक सहायताको माग राखेको छ । निगमले कर्जा अत्यधिक रहेको र ब्याज पनि धेरै भुक्तानी गर्नुपर्ने भएकाले संस्था उच्च जोखिममा रहेको बताउँदै तत्कालै सरकारले आर्थिक सहायता दिएर जोखिम कम गर्नुपर्ने बताएको हो ।
बिहीवार निगमद्वारा आयोजित कार्यक्रममा निगमका अध्यक्ष मदन खरेलले श्वेतपत्र जारी गर्दै निगम अहिले उच्च जोखिममा रहेको खुलासा गरे । उनले संस्थाको जोखिम कम गर्न सरकारले तत्कालै आर्थिक सहायता गर्नुपर्ने धारणा राखे । उनले श्वेतपत्रमा भनेका छन्, ‘निगमको जहाजको तिर्नुपर्ने कर्जा ३२.८७ अर्ब रहेको छ । निगमको दीर्घकालीन कर्जा र जम्मा पूँजी ३९.८२ रहेकाले निगम उच्च जोखिममा रहेको छ ।’
कर्जा तिर्नका लागि निगमले वाषिर्क १०.५० प्रतिशतका दरले ब्याज भुक्तानी गर्नुपर्ने हुँदा निगमलाई उच्च किस्ता तिर्नुपर्ने भएकाले यसले निगमको तरलता अवस्था तथा नाफामा सिधै असर परेको श्वेतपत्रमा उल्लेख छ । श्वेतपत्रमा भनिएको छ, ‘निगमका वित्तीय सूचकांकहरूलाई निगमअनुकूल बनाउन तुरुन्त नेपाल सरकारबाट पूँजी लगानी भित्र्याई वित्तीय जोखिम न्यूनीकरण गरी निगमको विश्वसनीयता कायम गर्नुपर्ने देखिन्छ ।’
निगमसँग उपलब्ध नगद प्रवाह तथा निगमले तिर्नुपर्ने दायित्व अत्यधिक रहेको र वाइडबडी जहाजको व्यावसायिक योजनाअनुसार सञ्चालन नभएसम्म उक्त कमीलाई पूर्ति गर्न निगमलाई तत्कालै आर्थिक सहायता दिनुपर्ने श्वेतपत्रमा उल्लेख गरिएको छ ।
बजार हिस्सा पनि घट्यो
एक वर्षको अवधिमा निगमको बजार हिस्सा पनि करिब २ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७३÷७४ को तुलनामा आव ०७४÷७५ मा बाह्य बजार हिस्सा १.८ र आन्तरिकतर्फ १.३ प्रतिशतले घटेको छ । निगमको गत साउन र भदौमा ‘सीट फ्याक्टर’समेत ओरालो लागेको छ । तत्काल उपयुक्त बजार व्यवस्थापन रणनीति बनाएर सीट फ्याक्टर र बजार हिस्सा बढाउनुपर्ने श्वेतपत्रमा उल्लेख छ । अध्यक्ष खरेलका अनुसार ए–३२० जहाजले जापान, रियाद र कोरियामा उडान सञ्चालन गर्न आवश्यक प्रक्रिया अगाडि बढाइएको र जीएसए छनोट कार्य पनि भइरहेको छ ।