बैंक तथा वित्तीय संस्थाका तीन छाता संगठन गाभिएर महासंघ बन्दै | बैंकर्स संघले अब हुने साधारणसभामा प्रस्ताव लाने
काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरू सबैको छाता संगठन गाभिएर अब महासंघ बन्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूका तीनवटा छाता संगठनहरू नेपाल बैंकर्स संघ, विकास बैंक संघ र फाइनान्स कम्पनीहरू गाभिएर महासंघ बन्ने भएको हो । महासंघ बनेपछि त्यसबाटै सरोकारवाला निकायहरूसँग ‘डिल’ गर्ने निष्कर्षमा वित्तीय संस्थाहरू पुगेका छन् ।
नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले भने, ‘हामीले छलफल शुरू गरिसकेका छौं । सबै सकारात्मक हुनुहुन्छ, सबैको उद्देश्य समान छ । एउटै कानून र निर्देशनले गाइड पनि गर्छ । त्यसैले एकै ठाउँमा संगठित हुँदा ठीक हुन्छ भनेर महासंघ बनाउने तयारीमा लागेका हौं ।’ यता बैंकर्स संघले छाता संगठनहरू गाभिएर ठूलो संगठन बन्ने निर्णय कार्यसमितिबाट गराइसकेको छ । आगामी साधारणसभामा अध्यक्ष ढुङ्गानाले गाभिएर एउटै बन्ने प्रस्ताव लिएर जाने जानकारी दिए ।
अहिले घ वर्गका लघुवित्त संस्थावाहेक क, ख र ग वर्गका संस्थालाई एउटै निर्देशनबाट राष्ट्र बैंकले नियमन गरिरहेको छ । सबैका साझा एजेण्डा र मुद्दाहरू पनि मिल्दाजुल्दा नै छन् । अध्यक्ष ढुंगानाका अनुसार सबैको समान उद्देश्य भएपछि एकै ठाउँमा बस्नुपर्छ । सबै संस्था एकीकृत हुँदा उनीहरूले उठाउने मुद्दा पनि शक्तिशाली हुन्छ र विचार पनि प्रभावकारी हुने उनको भनाइ छ ।
बैंकर्स संघको साधारणसभा अबको १५ दिनपछि हुँदै छ । त्यही साधारणसभामा अध्यक्षको प्रस्ताव पारित भए तीनवटै संस्था गाभिएर एउटा महासंघ बन्ने प्रक्रियाले गति लिनेछ ।
फाइनान्स कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले पनि सबै एकै ठाउँ भएर मिलेर जाँदा राम्रो प्रभाव पर्ने बताए । उनका अनुसार विशेष साधारणसभा डाकेर गाभिएर जाने कुरालाई पारित गराउन सकिन्छ । संघको साधारणसभा केही महिनाअघि मात्रै सकिएको छ ।
विकास बैंक संघमा पनि प्रस्ताव गइसकेको छ । संघका कामु अध्यक्ष गोविन्दप्रसाद ढकालले अनौपचारिक रूपमा प्रस्ताव आएको बताए । उनले भने, ‘अनौपचारिक प्रस्ताव आएको छ । तर, हाम्रो कार्यसमितिमा भने यसबारेमा कुराकानी भएको छैन ।’ यसबारेमा कार्यसमितिमा प्रस्ताव लैजाने उनको भनाइ छ ।
यसअघि बैंकर्स संघमा अध्यक्ष राजनसिंह भण्डारी हुँदा सबै संस्था गाभेर एउटै बनाउने पहल भएको थियो । भण्डारी अध्यक्षबाट बाहिरिएपछि हराएको मुद्दा ढुङ्गानाले व्यूँताएर अगाडि बढाएका छन् । यसरी तीन वटा संस्था एउटै भएर जाँदा बैंक तथा वित्तीय संस्थाहरूलाई मर्ज गर्न पनि सहज हुने बैंकरहरूको विश्लेषण छ ।