सिन्धु विकास बैंकको नाफामा ८२७ प्रतिशतले बढयो |
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सिन्धु विकास बैंकले गतबर्षको यसै अवधिको तुलनामा ९० लाख रुपैयाँ अर्थात ८२७ प्रतिशतले नाफा बढाएको छ । बैंकले एक करोड एक लाख रुपैयाँ खुद नाफा कमाएको हो ।
गतबर्षको पहिलो त्रैमासमा बैंकले १० लाख ९५ लाख रुपैयाँ मात्र कमाएको थियो । बैंकले नियमित खर्च सन्तुलनमा राख्दै संचालन आम्दानी र खुद ब्याज आम्दानी उच्च दरले बढाउदा नाफा बढाउन सफल भएको हो । साथै बैंकले खराब कर्जा असुली समेत बढाएको छ ।
यस त्रैमासमा बैंकले दुई कारोड ९६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गतबर्षको यसै अवधिको तुलनामा बैंकको खुद ब्याज आम्दानी ७४ प्रतिशतले बढेको हो । गतबर्ष बैंकले एक करोड ७० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
चुक्ता पूँजी ५० करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ८ करोड ९ लाख रुपैयाँ सञ्चित छ । बैंकको जगेडाकोषको आकार भने केहि घटेको छ ।
बैंकले निक्षेप संकलन र कर्जा प्रवाहलाई तिब्रता दिएको छ । असोज मसान्तमा एक अर्ब ९३ करोड ९९ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले एक अर्ब ४८ करोड २९ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । गतबर्ष यसै अवधिको तुलनामा बैंकले २३ करोड ८१ लाख रुपैयाँले धेरै निक्षेप संकलन गरेको हो भने ११ करोड ५३ लाख रुपैयाँले धेरै कर्जा परिचालन गरेको छ ।
बैंकले निष्कृय कर्जामा भने खासै सुधार गर्न सकेको छैन् । गतबर्षको पहिलो त्रैमासमा १.३९ प्रतिशत रहेको निष्कृय कर्जा अनुपात झिनो प्रतिशतले सुधारेर १.३२ प्रतिशतमा झारेको छ । बैंकको प्रतिशेयर आम्दानी ८ रुपैयाँ १२ पैसा छ । प्रतिशेयर नेटवर्थ ११६ रुपैयाँ १९ पैसा रहेको बैंकको मूल्य आम्दानी अनुपात १५।२५ गुणा बढी छ ।