सञ्चय कोषले गर्यो ६ लाख सञ्चयकर्ताको १० लाखसम्मको स्वास्थ्य बीमा | १ लाखको औषधि उपचार बीमा
काठमाडौं । कर्मचारी सञ्चय कोषका सबै सञ्चयकर्ताको स्वास्थ्य बीमा हुने भएको छ । यसका लागि कोष र राष्ट्रिय बीमा कम्पनीबीच बुधबार समझदारी भएको छ । उक्त सम्झौतामा कोषका तुसली गौतम र राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत बीर बिक्रम रायमाझीले हस्ताक्षर गरेका हुन । यो सम्झौता तीन बर्षका लागि गरिएको हो ।
घातक रोग तथा अन्य औषधिउपचारका लागि बीमा गर्ने सम्झौता भएको हो । यसबाट ६ लाख सञ्चयकर्ता लाभान्वित हुने छन्। । औषधि उपचारको लागि एक लाख र घातक रोगको लागि १० लाख रुपैयाँ बरबारको बिमा सुविधा उपलब्ध हुने छ । आगामी मंसिर १ गतेदेखि यो योजना लागू हुने छ । सम्झौता अनुसार कोषले सञ्चयकर्ताकोे बार्षिक प्रतिव्यक्ति ४ सय २० रुपैयाँ बीमा कम्पनीलाई उपलब्ध गराउने छ । जसबापत बीमा कम्पनीले सञ्चयकर्तालाई सामान्य बिरामी प्रतिव्यक्ति १ लाख र जटिल प्रकारको रोग लाग्दा प्रतिव्यक्ति १० लाख रुपैयाँ गरी ११ लाख रुपैयाँको स्वास्थ्य बीमा गरिदिने छ ।
कोषले सञ्चयकर्ताको लागि निːशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । हाल कोषमा ६ लाख सञ्चयकर्ता रहेको र उनीहरुलाई कोषकै आम्दानीबाट बीमा गराईने भएको छ । हाल सबै कर्मचारीको बीमा गर्न प्रक्रिया पुरा भएकोे छ । उक्त बीमा गरेवापत कोषले बीमा कम्पनीलाई एकमुष्टरुपमा वार्षिक २५ करोड २० लाख रुपैयाँ बीमा शुल्क बुझाउने छ ।
उक्त स्वास्थ्य बीमा कार्यक्रम अन्तरगत सरकारले तोकेको विभिन्न ९ प्रकारका जटिल प्रकृतिका रोग लाग्दा प्रतिव्यक्ति १० लाख रुपैयाँसम्म उपचार खर्च उपलब्ध गराईने भएको छ । साथै बिमित बिरामी भएर अस्पताल भर्ना भई उपचार गर्दा १ लाख रुपैयाँसम्म उपलब्ध लगाईने भएको छ । साथै त्यसरी प्रदान गरिने उपचार खर्च रोगको प्रकृति अनुसार दिईने भएको छ ।