कोलम्बो प्रोसेसको पाँचौं बैठक काठमाडौंमा शुरू, श्रममन्त्रीले गरे उद्घाटन | भोलि बस्ने मन्त्रीस्तरीय बैठकका लागि एजेण्डासमेत आजाको बैठकले तय गर्ने
काठमाडौं । विश्व श्रम बजारमा बढी कामदार निर्यात गर्ने १२ मुलुकहरूको साझा मञ्च कोलम्बो प्रोसेसको पाँचौं उच्च अधिकारीस्तरीय बैठक आज काठमाडौंमा शुरू भएको छ । आप्रवासी कामदारहरूको समस्या समाधानका लागि उक्त बैठक बस्न लागेको हो ।
बैठकको उद्घाटन कोलम्बो प्रोसेसका अध्यक्ष तथा नेपालका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गरेका हुन् । बैठकमा आप्रवासी कामदारको हकहितको साझा मुद्दाका विषयमा छलफल गरिनुका साथै भोलि बस्ने मन्त्रीस्तरीय बैठकका लागि एजेण्डासमेत तय हुनेछ ।
वैदेशिक रोजगारीमा कामदार पठाउने दक्षिण तथा दक्षिणपूर्वी एशियाली राष्ट्रको साझा मञ्च कोलम्बो प्रोसेसमा नेपालसहित अफगानिस्तान, भारत, बंगलादेश, चीन, कम्बोडिया, इण्डोनेशिया, पाकिस्तान, श्रीलंका, फिलिपिन्स, थाइल्याण्ड र भियतनामलगायत रहेका छन् ।
नेपाल अध्यक्ष राष्ट्र रहेको यो संस्थामा अन्य आठ पर्यवेक्षक देशहरूसमेत आवद्ध रहेका छन् । २००३ मा स्थापना भएको यो संस्थाको नेपालले सन् २०१७ मार्च २९ देखि अध्यक्षता गरिरहेको छ ।