सम्पूर्ण तनुहँवासीका लागि बन्दीपुर केबलकारको शेयर खुला हुँदै |
तनहुँ । तनहुँको पर्यटकीय क्षेत्र बन्दीपुरमा निर्माणाधीन केबुलकारको शेयर सम्पूर्ण तनहुँवासीका लागि खुला हुने भएको छ । यसअघि बन्दीपुरका बासिन्दालाई मात्रै प्राथमिकता दिँदै शेयर खुला गरिएकोमा अब भने तनहुँवासीका लागि समेत शेयर खुला भएको निर्माण कम्पनीले जानकारी दिएको छ ।
बन्दीपुर केबुलकार प्रालि, आरकेडी रियल स्टेट कम्पनी र पञ्चासे केबुलकार एण्ड टुर्स लिमिटेडको लगानीमा उक्त केबुलकार निर्माण भइरहेको छ । बन्दीपुर केबलकार कम्पनीका अध्यक्ष तारानाथ उपाध्यायले शेयर खरिदका लागि जिल्लाका अन्यत्र ठाउँका सर्वसाधारणले समेत चासो देखाएकाले शेयर खुला गरिएको बताए ।
उनले भने, ‘यसअघि बन्दीपुरका बासिन्दालाई मात्रै शेयर खुला गरिएको थियो । तर, जिल्लाका अन्य स्थानका बासिन्दाले पनि चासो देखाएकाले कात्तिक २५ गतेदेखि सम्पूर्ण जिल्लावासीका लागि नै शेयर खरिद गर्न सकिने व्यवस्था मिलाएका छौं ।’ उनका अनुसार आगामी मङ्सिर २५ गतेसम्म शेयर हाल्ने समयावधि थप गरिएको छ ।
कम्पनीले केबुलकारमा स्थानीयका लागि रू. ११ करोड २० लाखको शेयर छुट्याएको छ । बन्दीपुरका ६० जनाले केबुलकारका लागि शेयरको फाराम भरिसकेका छन् । ‘केबुलकारको सेयर खरिद गर्न स्थानीयको चासो बढेको पाएका छौं,’ उपाध्यायले भने, ‘बन्दीपुरबाट मात्रै ११ करोड २० लाख उठ्न सम्भव नदेखिएकाले अब समग्र तनहुँवासीलाई नै शेयरमा समेट्छौं ।’
कम्पनीले रू. १०० का दरले ११ लाख २० हजार कित्ता प्रवद्र्धक शेयर सर्वसाधारणका लागि खुला गरेको छ । कम्पनीले बन्दीपुर आसपासका जनतालाई रू. ७ हजार ५ सय तिरेपछि १० वर्षसम्म केबुलकारको सेवा प्रदान गर्ने घोषणासमेत गरिसकेको छ ।
कम्पनीलाई पब्लिक कम्पनीका रूपमा विकास गरी जनताको अपनत्व बढाइने आरकेडी रियल स्टेट कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताए । उनका अनुसार पत्रकारिता क्षेत्रबाट केबुलकार प्रवद्र्धनमा सहयोग पुर्याउने तीन जना पत्रकारलाई वार्षिक रूपमा रू. एक÷एक लाखको शेयरमार्फत सम्मान गरिनेछ ।
त्यस्तै, सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएबापत एक जना समाजसेवीलाई समेत प्रत्येक वर्ष १ लाख शेयरले सम्मानित गर्ने कम्पनीले घोषणा गरेको छ ।
पृथ्वी राजमार्गको बन्दीपुर गाउँपालिका–४ स्थित ठूल्ढुङ्गास्वाँराबाट बरालथोकसम्म जोडिने केबुलकारबाट घण्टामा २०० जनाले वारपार गर्न सक्नेछन् । डुम्रे बजारदेखि बन्दीपुर पुग्न सात किमी उकालो बसमा झण्डै २० मिनेट लाग्ने दूरी बसमा करीब २० मिनेट लाग्छ । केबलकार निर्माण भएपछि ९ मिनेटमा बन्दीपुर पुग्न सकिनेछ ।
५६ करोडको लागतमा निर्माण हुने उक्त केबुलकार करीब १५ महीनामा निर्माण सक्ने लक्ष्य राखिएको छ । केबलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ ।