घट्यो हिमालयन बैंकको ईपीएस |
काठमाडौं । हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा बढेको छ भने ईपीएस घटेको छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ३९ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.११ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २८ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २४.०१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २६.०६ प्रतिशत बढेको छ।
चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा बैंकको प्रतिशेयर आम्दानी अर्थात ईपीएस भने घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ७५ पैसा घटेर १४ रुपैयाँ ३१ पैसामा सीमित भएको छ। चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ ९६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३३.८३ गुणा रहेको छ।
पछिल्लो ९ महिनामा बैंकको चुक्ता पूँजी २१.३८ प्रतिशत बढेको छ भने जगेडा कोष १४.९५ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको निक्षेप १७.२३ प्रतिशत बढेको छ भने कर्जा १९.३३ प्रतिशत बढेको छ।