युवा उद्यमी मञ्चले १० वैशाखमा महिला युवा उद्यमी सम्मेलन आयोजना गर्दै |
काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) ले आठौं महिला–युवा उद्यमी सम्मेलन (वाइईएसडब्ल्यू) २०२२ आयोजना गर्ने भएको छ ।
संस्थाले आगामी शनिबार (वैशाख १० गते) हायात प्यालेस काठमाडौंमा उक्त कार्यक्रम आयोजना गर्ने जानकारी दिएको छ । कृषि, निर्माण कार्य, शारीरिक व्यायाम, परामर्शदाता, अनुसन्धान क्षेत्रमा संलग्न महिला युवा उद्यमीहरूको सहभागिता सो कार्यक्रममा रहने बताइएको छ ।
अन्तर्राष्ट्रिय मजदुर सङ्गठन (आईएलओ) राष्ट्रिय वाणिज्य बैंक र युनाइटेड इन्स्योरेन्स तथा अन्य प्रायोजकद्वारा उक्त कार्यक्रमलाई प्रवरद्धन गरिएको छ । सो कार्यक्रममा १५० जना भन्दा बढी उद्योगी, व्यवसायी, सम्बन्धित क्षेत्रका विज्ञ, नव उद्योग तथा विद्यार्थीहरूको उपस्थिति रहने आयोजकको अपेक्षा छ ।
कार्यक्रममा आमाको अचारको तर्फबाट संगीता पाण्डे, महिला उद्यमी महासंघकी अध्यक्ष निरु रायमाझी खत्री, गोल्डस्टारबाट विधुषी राना, एफवान सफ्ट इन्टरनेशनलबाट सुभाष शर्मा, दराज नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आँचल कुँवरले आफ्ना अनुभव, कार्यशाला तथा सारगर्भित मन्तव्य व्यक्त गर्ने छन् ।
महिला युवा उद्यमीको अगुवाईमा स्टार्टअप तथा नयाँ उद्यमहरूमा बिहे–नेपाल, एडुकेस, माकुसे र सुइरोलगायतको सहभागिता रहने छ । उद्यमशीलताको प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको यो संस्गाले सन् २०१३ देखि महिला–युवा उद्यमी सम्मेलन (वाईइएसडब्ल्यू) आफ्नो एक गौरवशाली कार्यक्रमको रूपमा आयोजना गर्दै आएको छ ।