सीएनएनद्वारा ट्रम्प र उनका उच्च सहयोगीविरुद्ध मुद्दा दायर |

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ह्वाइट हाउसका उनका उच्च सहयोगीविरुद्ध अदालतमा मुद्दा परेको छ । सीएनएनले हिजो मंगलवार अमेरिकाको जिल्ला अदालत, वासिङ्टनमा उनीहरू दुवैलाई विपक्षी बनाई मुद्दा दायर गरेको हो ।
ह्वाइटहाउसस्थित राष्ट्रपति कार्यालयले सीएनएनका लागि ह्वाइट हाउस वरिष्ठ संवाददाता जिम एकोस्टाको परिचयपत्र अमान्य घोषित गर्दै उनको प्रवेशमा रोक लगाएपछि सीएनएनले मुद्दा दायर गरेको हो । राष्ट्रपति ट्रम्पले आयोजना गरेको पत्रकार सम्मेलनमा एकोस्टाले कडा प्रश्न गरेपछि गत बुधवार तनाव भएको थियो ।
ह्वाइट हाउसमा कार्यरत महिला कर्मचारीले एकोस्टाले प्रश्न गरिरहेकै बेला उनको माइक्रोफोन नियन्त्रणमा लिने प्रयास गरेकी थिइन् । तर, एकोस्टाले ती महिलालाई रोके र थप प्रश्नहरू ट्रम्पमाथि बर्साए । यो घटनाको भिडियो भाइरल भएर चर्को आलोचना भएपछि ह्वाइटहाउसले एकोस्टाको परिचयपत्र नै जफत गर्ने अलोकप्रिय कदम चालेको थियो । तर, सीएनएन ट्रम्प र उनको प्रशासनले आफ्ना पत्रकारको संवैधानिक अधिकार खोसेको भन्दै अदालत गएपछि घटनाले रोचक मोड लिएको छ ।