एनएमबी बैंकको नवौं हेरिटेज वाक कार्यक्रम सम्पन्न |
काठमाडौं । एनएमबी बैंकले नवौं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आज एनएमबी भवन एनएमबी बैंक बबरमहलबाट सुरु गरेको कार्यक्रम बसन्तपुर डवलीसम्म पुगि समापन भएको छ । यो हेरिटेज वाक कोभिड १९ को प्रकोप पश्चात दुई वर्ष पछि आयोजना गरिएको हो ।
समृद्ध नेपालको अपार सम्भावनासहित मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवद्र्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त समारोहको आयोजना गरिएको बैंकले जनाएको छ । बैंकले नेपाल हेरिटेज सोसाइटीको सहकार्यमा बसन्तपुर डवलीमा बैंकका कर्मचारी, नेपाल हेरिटेज सोसाइटीका सदस्यहरु, युनेस्काको सदस्य तथा सर्वसाधारणहरु गरी करिब पाँच सय जनाको सहभागितामा कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त कार्यक्रममा नेपाल हेरिटेज सोसाइटी तथा स्थानीय सिन्हा स्वान खलालाई डस्टविनहरु पनि हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रम प्रदेश १, २, ४,५,६ र ७ मा समेत गरीएको छ । प्रदेश १ मा विराटनगर शाखादेखि पिण्डेश्वरी मन्दिर, मधेस प्रदेश (प्रदेश नं. २) मा वीरगञ्ज शाखादेखि गहवा माई मन्दिर, गण्डकी प्रदेशमा चिप्लेढुङ्गा शाखादेखि भद्रकाली मन्दिर, प्रदे्रश ५ मा ट्राफिक चोक शाखादेखि जितगढी किल्ला र सुदूरपश्चिम प्रदेशमा बजार क्षेत्र परिक्रमा गरी विभिन्न मन्दिरहरु सरसफाई गरेको छ ।
उक्त हेरिटेज वाकमा ‘साँस्कृतिक सम्पदालाई आफ्नो बच्चालाई जत्तिनै माया गरौं, यो मेरो साँस्कृतिक सम्पदा हो, यसलाई म सफा राख्छु, साँस्कृतिक सम्पदा संरक्षण भावी सन्ततीको लागि मार्गदर्शन, अतिथिको सम्मानार्थ साँस्कृतिक सम्पदाको जगेर्ना’ गर्ने किसिमका नारा अंकित प्ले कार्डहरु थिए ।
एनएमबी बैंक विगत २६ वर्षदेखि बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क”वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । एनएमबी बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो ।
एनएमबी बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ । बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।