सराङ्कोटमा अर्को नयाँ जिपलाइनको सफल परीक्षण, नयाँ बर्षदेखि सन्चालनमा आउने |
काठमाडौं । सुर्योदय दृश्यावलोकनका लागि प्रख्यात पोखराको सराङ्कोटमा नयाँ जिपलाइन सञ्चालनमा आएको छ । हालैमात्र सञ्चालनमा आएको अन्नपूर्ण केबलकारको टप स्टेसनमा नै अर्को जिपलाइन सञ्चालनमा आएको हो ।
उडि एडभेन्चर प्रालिले सञ्चालनमा ल्याएको जिपलाइनको मंगलबार सफल परिक्षण भएको छ। योसँगै यही नयाँ बर्षदेखी जिपलाइनको व्यवसायिक सन्चालन गरिने कम्पनीले बताएको छ । कुल १ करोड रुपैयाँ लागतमा निर्माण भएको जिपलाइन सय मिटर लामो रहेको छ । साथै सोही स्थानमा कम्पनीले ६० मिटर लामो स्काई साइक्लिङ र जायन्ट स्विङको समेत निर्माण भैरहेको र एक हप्ता भित्र सञ्चालनमा आउने सन्चालक केदार थापाले जानकारी दिए ।
केवलकारमार्फत सराङ्कोट पुग्ने आन्तरिक एवंम बाह्य पर्यटकहरुलाई थप मनोरन्जन दिनका लागि सोही स्थानमा जिपलाइन सञ्चालनमा ल्याएको थापाले बताए । जिपलाइन शुल्क प्रतिव्यक्ति ३०० रुपैयाँ, स्काइ साइक्लिङको ५०० रुपैयाँ र स्विङका लागि ४०० रुपैयाँ तोकिएको उनले बताए ।
रोज इन्टरनेशनल कम्पनीले निर्माण गरेको सो एड्भेन्चर गतिविधिमा दैनिक करिब ५०० जनाले एड्भेन्चर मज्जा लिने कम्पनीले अपेक्षा लिएको छ । यसअघि नै सोही स्थानमा हाईग्राउन्ड एड्भेन्चर्सले साराङकोटदेखि हेम्जा झर्ने विश्वकै भिरालो जिपलाइ सञ्चालनमा ल्याइसकेको छ ।