अनलाइन कारोबार गर्नका लागि युनिक क्लाइन्ट कोड लिनुपर्ने |
काठमाडौं । अनलाइन कारोबार प्रणालीमा शेयर कारोबार गर्न युनिक क्लाइन्ट कोड (युसीसी) अद्यावधिक गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले व्यक्तिगत तथा संस्थागत लगानीकर्तालाई आग्रह गरेको छ ।
अनलाइन कारोबार गर्न नपाएको गुनासो आएपछि नेप्सेले केवाइसी अद्यावधिक गर्दै युसीसी लिन आग्रह गरेको हो । अनलाइनमा शेयर कारोबार गर्न युसीसी अनिवार्य चाहिन्छ । युसीसी प्राप्त गर्न लगानीकर्ताले ब्रोकर कार्यालयमा केवाइसी फारम भर्नुपर्छ । केवाइसी फारम भर्दा व्यक्तिगत लगानीकर्ताले ग्राहकको नाम,ग्राहकको कोड ,जन्म मिति, नागरिकता प्रमाणपत्र जारी भएको मिति, नागरिकता नम्बर र नागरिकता जारी भएको जिल्ला अनिवार्य खुलाउनु पर्ने नेप्सेले जनाएको छ ।
यसैगरी संस्थागत लगानीकर्ताको हकमा संस्थाको नाम,ग्राहकको कोड ,संस्था दर्ता मिति र संस्था दर्ता नम्बर राख्न नेप्सेले भनेको छ । वास्तविक लगानीकर्ताको पहिचानको लागि नयाँ प्रणालीमा युसीसी अनिवार्य गरिएको हो । यसले दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ता र संस्थाको कारोबार गतिविधि निगरानी गर्न सहयोग गर्छ ।