नेपाल औषधि लिमिटेडले दुई वर्षभित्रै माग अनुसारको सिटामोल उत्पादन गर्ने |
काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडले दुई वर्ष भित्र माग अनुसारकको सिटामोल उत्पादन गर्ने बताएको छ । नेपाल औषधि लिमिटेडले २ वर्षभित्र सहज आपूर्ति हुने गरी उत्पादन गर्ने योजनासहितको पञ्चवर्षीय व्यापारिक योजना सार्वजनिक गरेको छ । दुई वर्षभित्र बजारमा माग अनुसारको आपूर्ति हुने गरी सिटामोल उत्पादन गर्ने गरी सो योजना तय गरिएको छ । लिमिटेड बोर्ड बैठकले अब छिट्टै सिटाप्लस पनि उत्पादन गर्ने योजना बनाएको छ ।
नेपाल औषधि लिमिटेडले जीवन जल र सिटामोल उत्पादन गर्दै आएको छ । अब छिट्टै सिटाप्लस उत्पादनको काम शुरु हुने बताइएको छ । सिटाप्लस उत्पादनका लागि यो वर्ष २ वटा मेसिन थप्ने तयारी गरिएको छ ।
बजेटको आवश्यक व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयसँग कुरा भईरहेको पनि लिमिटेडले जनाएको छ । लिमिटेडको पञ्चवर्षीय व्यापारिक योजनामा आईरन चक्कीलगायतका १६ वटा औषधि उत्पादन गर्ने उल्लेख गरिएको छ । त्यसका लागि लिमिटेड आफैले अग्रसरता लिने तयारी गरिरहेको छ ।