बाबुआमालाई अपमान र घरनिकाला गर्ने छोराछोरीलाई अब जेल सजाय | छोराछोरीले आफ्नो कमाइको १० प्रतिशत बाबुआमाको नाममा बैंक ब्यालेन्स गर्नैपर्ने
काठमाडौं । अबदेखि आफ्ना बाबुआमालाई हेला गर्ने र दुःख दिने र घर निकाला गर्ने, अपमानित गर्ने, सडकपेटीमै बेवारिसे अवस्थामा छाड्नेजस्ता हर्कत गर्ने छोराछोरीलाई जेल सजायसमेत हुने गरी कानूनी व्यवस्थाको तयारी थालिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ संशोधन गरी यस्तो प्रावधान राख्न मन्त्रिपरिषद्मा प्रस्ताव लगिएको जानकारी दिएको हो ।
प्रस्तावित ऐनमा ‘सार्वजनिक पदधारण गरेको व्यक्तिले आफ्नो मासिक पारिश्रमिकबाट १० प्रतिशत रकम ज्येष्ठ नागरिक आफ्ना बाबुआमाको नाममा रहेको बैंक खातामा जम्मा गर्नुपर्नेछ’ भनिएको छ ।
मन्त्रालयका सहसचिव वीरबहादुर राईले ऐनमा अन्तरराष्ट्रिय वा अन्तरसरकारी संघ–संस्था वा प्रचलित कानूनबमोजिम आफ्नो मासिक पारिश्रमिकबाट १० प्रतिशत रकम बाबुआमाको नाममा रहेको बैंक खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिए । प्रत्येक आर्थिक वर्षको अन्तिममा आफ्नो आम्दानीको १० प्रतिशत आमाबाबुलाई बुझाएको बारे सम्बन्धित निकायमा जानकारी गराउनुपर्ने ऐनमा व्यवस्था गरिएको छ ।
प्रस्तावित उक्त ऐनमा ज्येष्ठ नागरिकलाई हेरचाह र संरक्षणका लागि स्थानीय तहले ज्येष्ठ नागरिक सेवा केन्द्रको स्थापना गर्न सक्ने व्यवस्थासमेत गरिएको छ । त्यस्तै, सार्वजनिक पदधारण गरेका व्यक्तिले ऐनबमोजिम कसुर गरेमा निजलाई अन्य व्यक्तिलाई हुने सजायभन्दा ३० प्रतिशत थप सजाय हुनेछ । पछिल्लो पटक आफ्ना वृद्ध बाबुआमालाई पालनपोषण गर्नुको सट्टा भएको सम्पत्ति छोराछोरीले आफ्ना नाममा गराएर आमाबाबुलाई हेला गर्ने संस्कार बढ्दै गएका कारण पनि त्यस्तो ऐनको आवश्यकता भएको सहसचिव राईको भनाइ छ । प्रस्तावित ऐनमा बिहे गरेकी जागिरे छोरीले समेत माइतीमा रहेका आफ्ना बुबाआमालाई मासिक कमाइको १० प्रतिशत बैंक ब्यालेन्स गरिदिनुपर्ने उल्लेख छ ।
ऐनमा मासिक रूपमा केही न केही कमाइ गर्ने सबैले आफ्ना बुबाआमालाई कमाइको १० प्रतिशत रकम अनिवार्य रूपमा दिनुपर्ने छ । सरकारले ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने उद्देश्यले २०६३ मा ज्येष्ठ नागरिकसम्बन्धी ऐन ल्याए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । उक्त ऐनमा यातायात र स्वास्थ्य उपचारमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने भनिए पनि त्यसको अहिलेसम्म पूर्ण कार्यान्वयन हुन सकेको छैन ।
धेरै बाबुआमा सन्तान भएर पनि आश्रममा बाँचिरहेका छन् । नयाँ पुस्तामा एकल परिवार (श्रीमान्, श्रीमती, छोरा–छोरी) को संरचनाभित्र जन्म दिने बाबुआमा नअटाएको देखिन्छ । ०६८ को जनगणनाअनुसार ज्येष्ठ नागरिकको जनसंख्या (६० वर्ष पुगेका) २५ लाख अर्थात् कुल जनसंख्याको ८.१३ प्रतिशत छ । हाल विश्वमा ६० वर्ष नाघेका ज्येष्ठ नागरिक करिब ८० करोड छन् । यो संख्या सन् २०५० सम्ममा २ अर्ब नाघ्ने अनुमान गरिएको छ । देशभर हाल करिब ८० वृद्धाश्रम रहेका छन् ।
पछिल्लो समयमा संयुक्तभन्दा एकल परिवारको संस्कृति मौलाउँदै गएको सन्दर्भमा ‘ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ’ भनी संविधानमा व्यवस्था गरिएको छ । ज्येष्ठ नागरिकले पैतृक सम्पत्तिमा छोराछोरीको हकदाबी नलाग्ने, आमाबाबु जीवित रहुञ्जेल पैतृक सम्पत्ति छोराछोरीको नाममा नामसारी गर्न नपाइने र बाबुआमाविरुद्धमा कुनै बहानामा उजुरी गर्न नपाइने माग गर्दै आएका छन् ।