एम्नेस्टीद्वारा म्यानमारकी नेतृ आङ सान सुकीको सर्वाेच्च सम्मान फिर्ता |
काठमाडौं । एम्नेस्टी इण्टरनेशनलले म्यानमारकी नेतृ आङ सान सुकीबाट आफूले दिएको सर्वाेच्च सम्मान फिर्ता लिएको छ । एम्नेष्टीले आफूले सुकीलाई दिएको सर्वोच्च सम्मान ‘एम्बेस्डर अफ कन्सियन्स अवार्ड’ फिर्ता लिएको हो । रोहिङ्ग्या अल्पसंख्यक समुदायप्रति उनको व्यवहार नराम्रो भएको भन्दै उक्त संस्थाले सो सम्मान फिर्ता लिएको हो ।
एम्नेष्टीले सुकीलाई आफ्नो सर्वोच्च अवार्ड ‘एम्बेस्डर अफ कन्शियन्स अवार्ड’ सन् २००९ मा प्रदान गरेको थियो । त्यतिबेला सुकी आफ्नै घरमा नजरबन्दमा थिइन् । सुकी तिनै व्यक्ति हुन्, जसलाई एम्नेष्टीले कुनै समय लोकतन्त्रको प्रकाशस्तम्भ भनेको थियो । एमनेस्टीका सचिव जनरल कुमी नाइडुले म्यानमारका नेतालाई पत्र लेखेर सम्मान फिर्ता लिइएको जानकारी दिएको बीबीसीले बताएको छ । सुकी म्यानमार सरकारको नजरबन्दबाट मुक्त भएको ८ वर्ष पुगेको छ र रिहाइ भएको ठीक ८ वर्षकै दिन एम्नेस्टीले सर्वाेच्च सम्मान फिर्ता लिएको छ ।
१५ वर्षसम्म आफ्नै घरमा नजरबन्दमा परेकी सुकीलाई एमनेष्टीले १९८९ मा ‘राजनीतिक बन्दी’ घोषणा गरेको थियो । उनलाई राजनीतिक बन्दी घोषणा गरेको ठीक २० वर्षपछि एम्नेस्टीले सर्वाेच्च सम्मान दिएको थियो । यसअघि एम्नेष्टीको उक्त सर्वाेच्च सम्मान नेल्सन मण्डेलाले पाएका थिए ।