कस्मेटिक व्यवसायी संघको अध्यक्षमा तिमल्सिना चयन |
काठमाडौं । नेपाल कस्मेटिक व्यवसायी संघको अध्यक्षमा ऋषिकेश तिमल्सिना चयन भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न संघको चौथो साधारणसभाले तिमल्सिनाको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा सीता पराजुली, प्रथम उपाध्यक्षमा केशव ज्ञवाली, उपाध्यक्षमा मच्छिन्द्र खकुरेल, सह कोषाध्यक्षमा सुभाष गोयल, कोषाध्यक्षमा टेकबहादुर काफ्ले, सहसचिवमा नन्दकिशोर रिजाल र सचिवमा चित्रबहादुर बस्नेत चयन भएका छन् ।
यस्तै, सदस्यहरूमा कमलकुमार दुगड, नारायण न्यौपाने, सन्तोषकुमार साह, तीर्था भण्डारी, सरिता बोहरा, मुकेश अग्रवाल र दिपेन्द्रकुमार श्रेष्ठ चयन भएका छन् । संघका नवनिर्वाचित अध्यक्ष तिमल्सिनाले सौन्दर्य व्यवसायलाई मर्यादित र सम्मानजनक व्यवसायका रूपमा अघि बढाउन आफूले प्रयास गर्ने बताए ।
संघको साधारणसभा उद्घाटन गर्दै प्रमुख कर प्रशासक शम्भुप्रसाद मरासिनीले कस्मेटिक व्यवसाय मेकअप मात्रै नभई मानव स्वास्थ्यसँग पनि सम्बन्धित रहेको उल्लेख गरे । उनले कस्मेटिक वस्तु बढी आयातमुखी भएको भन्दै स्वदेशी वस्तु उत्पादन गर्नुपर्नेमा जोड दिए । ‘स्वदेशमै कस्मेटिक वस्तु उत्पादन गरी निर्यात गर्नसके विदेशी मुद्रा आर्जन गर्न सकिन्छ,’ मरासिनीले भने, ‘नेपालमा सौन्दर्य प्रशाधनको व्यवसाय नयाँ ढंगले अघि बढ्नुपर्ने अवस्था छ ।’