अपि पावरको हकप्रद सेयर बिक्री खुला |
काठमाडौं । अपि पावर कम्पनीको आज शुक्रबार चैत २५ गतेबाट हकप्रद सेयर बिक्री खुला भएको छ । यसको १ः०.३९३६ अनुपातमा हकप्रद सेयर बिक्रीमा आएको हो । जसअनुसार प्रतिकित्ता १०० रुपैयाँ दरले कुल १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर खुला गरिएको हो । अपिले हकप्रद सेयर बिक्रीका लागि चैत १४ गते बुक क्लोज गरिसकेको छ । चैत १३ गतेसम्म कायम रहेका सेयरधनीले यस हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
यसमा वैशाख १५ गतेसम्म आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गरेको छ । मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनीको ट्रेड टावर थापाथलीबाट यसमा आवेदन दिन सकिनेछ । यसैगरी, मुक्तिनाथ विकास बैंकको इटहरी, पोखरा, नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी र जनकपुर शाखा कार्यालयबाट पनि आवेदन दिन मिल्नेछ ।
यसका साथै, मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ । अपि पावरको हकप्रद सेयरलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले केयर एनपी बी प्लस इस्युअर रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
यसअघि पनि अपिले गत जेठ २० गतेदेखि असार ९ गतेसम्म पनि ५६ लाख ७० हजार कित्ता (२९.३८% हकप्रद सेयर बिक्री गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ रहेको छ । कम्पनीले यही पुँजीबाट अहिले ३९.३६% अनुपातमा हकप्रद बिक्रीमा ल्याएको हो । अब हकप्रद बिक्रीपछि चुक्ता पुँजी ३ अर्ब ८४ करोड ४९ लाख रुपैयाँ पुग्नेछ ।