काठमाडौं ट्रिएनालेमा अवलोकनकर्ताको घुइँचो |
काठमाडौं । काठमाडौं ट्रिएनाले २०७७ मा अवलोकनकर्ताको घुइँचो लागेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सिद्धार्थ आर्ट्स फाउन्डेसनको संयुक्त आयोजनामा गत माघ २८ मा शुरू भएको ट्रिएनालेको चौथो संस्करणमा अवलोकनकर्ताको घुइँचो लागेको हो ।
गत फागुन १७ गतेबाट प्रत्यक्ष सहभागिता शुरू भएको ट्रिएनालेअन्तर्गत भिन्नभिन्न विषयवस्तु समेटेर क्युरेट गरिएका ३०० भन्दा बढी कलाकृतिहरू काठमाडौंका सिद्धार्थ आर्ट ग्यालरी, पाटन संग्रहालय, बहादुर शाह बैठक, तारागाउँ संग्रहालय र नेपाल आर्ट काउन्सिल गरी पाँच ठाउँमा प्रदर्शन भइरहेका छन् ।
२०७७ पुसमा हुने भनिएको ट्रिएनाले कोभिड–१९ संक्रमणका कारण तोकिएको मितिमा शुरू हुन नसकेर गत माघ २८ बाट शुरू भएको थियो ।
फागुन १७ बाट प्रत्यक्ष सहभागिता सुरु भएको ट्रिएनाले चैत १७ सम्म चल्नेछ ।
काठमाडौं ट्रिएनाले २०७७ का सम्पूर्ण कार्यक्रम भर्चुअल र भौतिक दुवै किसिमबाट सहभागिता जनाउन सकिने गरी हाइब्रिड तरिकाले सञ्चालन भइरहेको आयोजकको भनाइ छ ।
काठमाडौं ट्रिएनाले २०७७ को आयोजना र सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग २०७७ साल असोज २ गते आधिकारिक सम्झौता नवीकरण भएको सिद्धार्थ आर्ट्स फाउन्डेसनले जनाएको छ ।
‘अकल्पनीय विश्वव्यापी चुनौतीको सामना गर्नुपरेको यस अवस्थामा यो साझेदारी हाम्रो विविधतापूर्ण समाजको उत्थानका लागि संस्कृतिले खेलेको भूमिकाप्रतिको आभारोक्ति हो,’ फाउन्डेसनले भनेको छ, ‘यसका साथै यो साझेदारी अन्तर्राष्ट्रिय जगतमा नेपालको उपस्थिति विस्तार गर्ने सम्भावनाको प्रमाण पनि हो ।’
निर्देशक संगीता थापाले ट्रिएनालेले नेपालको कला क्षेत्रमा दिगो तथा सकारात्मक प्रभाव पार्न सक्ने बताइन् ।
काठमाडौं ट्रिएनाले हङकङमा रहेको साझेदार संस्था पारा साइटको सहयोगमा आयोजना भएको हो । कार्यक्रमको प्रथम प्रदर्शनीका रुपमा सन् २०२० मा गार्डेन अफ सिजनस नामक प्रदर्शनी हङकङमा सञ्चालन भइसकेको छ ।
यस प्रदर्शनीले ४० भन्दा धेरै देशका १०० भन्दा बढी कलाकारलाई समेटेको छ । प्रदर्शनीका साथै ट्रिएनालेमा सर्वसाधारणका लागि क्यूरेट गरिएका सार्वजनिक प्रस्तुति, कार्यशाला, छलफल तथा विचार–गोष्ठी लगायत शृंखलाबद्ध कार्यक्रम पनि छन् ।