निजी सवारी साधनमा जाने कर्जामा राष्ट्र बैंकको कडाई, मूल्यको ५० प्रतिशत मात्र ऋण दिन पाइने |
काठमाडौं । नेपाल राष्ट्र बैंकले निजी सवारी साधान किन्नका लागि ग्राहकले बैंक तथा वित्तीय संस्थाबाट पाउने कर्जा सुविधा कटौति गरेर छ । डेढ बर्षअघिको मौद्रिक नीतिले पहिलो पटक निजी सवारी साधनमा जाने ऋणमा अंकुस लगाएको थियो । त्यो अंकुस ६ महिनामै केही खुकुलो भएको थियो । त्यसलाई पनि कस्ने निर्णय राष्ट्र बैंकले गरेको हो । राष्ट्र बैंकले मंगलबार निर्देशन जारी गर्दै निजी सवारी साधनमा त्यसको मूल्यको ५० प्रतिशत मात्र ऋण दिन लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।
सवारी साधनको आयात उच्च रुपमा बढेको र बैंकहरुले सवारी साधनमा अत्याधिक कर्जा विस्तार गर्दा आयात निर्यातबीचको असन्तुलन बढेर शोधनान्तर स्थिति ऋणात्मक भएको राष्ट्र बैंकको बुझाई छ ।
विगतमा ९० प्रतिशतसम्म बैंकहरुले ऋण दिए भनेर राष्ट्र बैंकले ५० प्रतिशतमा झारेको थियो । सवारी साधनलाई कसेपछि सरकारी राजश्व नै प्रभावित भएकाले पछि त्यसको सीमा ६५ प्रतिशत पु्रयाइएको थियो । एक बर्षदेखि ६५ प्रतिशत रहेको सीमालाई फेरि ५० प्रतिशतमा झारिएको हो । अब ५० लाखको गाडी किन्नु परे खरीदकर्ताले २५ लाख रुपैयाँ आफैले हाल्नु पर्छ । बाँकी २५ लाख बैंकले ऋण दिन्छ ।
विद्युतीय सवारीसाधनको मूल्यमा ८० प्रतिशतसम्म ऋण दिन पाउने ब्यवस्थालाई भने राष्ट्र बैंकले यथावत राखेको छ । यस्तै ४० सीटे सार्वजनिक यातायातको सीमामा पनि कुनै परिवर्तन गरेको छैन् । निर्माण कार्य, शिक्षा, स्वास्थ्य, पर्यटन र स्वास्थ्यका क्षेत्रमा यो सिमा लागु नहुने राष्ट्र बैंकको भनाई छ ।
राष्ट्र बैंकले दशै र तिहारको अवसर पारेर ब्यवसायीहरुले गाडी विक्री सकेपछि ब्यक्तिगत प्रयोजनका सवारी साधनमा कर्जाको सिमा बढाएको भन्दै यसको आलोचना समेत हुन थालेको छ ।