बुक बिल्डिङबाट आइपीओ आउनुपर्छ : धितोपत्र बोर्डका अध्यक्ष |
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्ने व्यवस्था प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन् । सोमबार आर्थिक पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा उनले अहिलेको अवस्थामा आर्थिक रुपमा सबल कम्पनीहरुले बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्नुपर्ने बताएका हुन् । उनले पुँजी बजारको दायरा फराकिलो पार्नको लागि पनि बुक बिल्डिङ विधिबाट आइपीओ जारी हुनुपर्ने बताए ।
हमालले भने, ‘रियल सेक्टरका कम्पनीहरुलाई पनि पुँजी बजारमा भित्र्याएर यसको दायरा फराकिलो बनाउनको लागि बुक बिल्डिङ विधिबाट कम्पनीहरुले आइपीओ जारी गर्नुपर्छ ।’ धितोपत्र बोर्डले बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्नको लागि तयार गरेको बुक बिल्डिङ निर्देशिका, २०७७ समसामायिक रहेको पनि बताएका छन् । नियम–कानुनमा समस्या देखिएन । यसमा केही व्यक्तिहरुको खराब नियतको कारण नकारात्मक प्रचार भयो ।
उनले सर्वोतम सिमेन्टको केसलाई इंगित गर्दै भने, ‘केही सीमित व्यक्तिहरुको स्वार्थका कारण यसलाई नकारात्मक रुपमा हेरियो । तर, यो निर्देशिका तथा विधि ठीक छ ।’ साथै, उनले सर्वोतम सिमेन्टलगायतका उत्पादनमूलक र अरु सेक्टरका कम्पनीहरुलाई पनि बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्न प्रोत्साहन गर्ने बताए । त्यसका लागि धितोपत्र बोर्डले गर्नुपर्ने आवश्यक काम गर्ने उनको भनाई छ ।
साथै, आफ्नो कार्यकालमा खराब नियत राखेर काम आफू पनि नगर्ने र अरुलाई पनि गर्न नदिने बताए । उनले भने, ‘मेरो कार्यकालसम्म म निष्पक्ष भएर काम गर्नेछु ।’ धितोपत्र बोर्डले २०७७ साउनमा बुक बिल्डिङ निर्देशिका, २०७७ जारी गरेको हो । सोही निर्देशिकाअनुसार पहिलोपटक आइपीओ जारी गर्न लागेको सर्वोतम सिमेन्टमा धितोपत्र बोर्डका तत्कालिन अध्यक्ष र नेप्सेका तत्कालीन सीइओले गैरकानुनी रुपमा लाभ लिएको आरोप लागेसँगै यो प्रक्रिया रोकिएको हो ।