माइक्रोसफ्टले रुसमा बन्द गर्यो सेवा |
युक्रेनमा जारी रुसी आक्रमणसँगै विश्वका विभिन्न प्रविधि कम्पनीहरूले रुसविरुद्ध एकपछि अर्को कडा निर्णय लिइरहेका छन् ।
पश्चिमी देशका सरकारहरू, विश्व खेल संगठनहरू तथा ठूला कम्पनीहरूले समेत रुसी हमलाको निन्दा गर्दै रुसमाथि विभिन्न खालका बन्देज लगाइरहेका छन् । यसै क्रममा पछिल्लोपटक माइक्रोसफ्ट कम्पनीले रुसमा आफ्ना प्रडक्टको बिक्री तथा सम्पूर्ण सेवा बन्द गर्ने घोषणा गरेको छ ।
माइक्रोसफ्टको कम्प्युटर अपरेटिङ सिस्टम विन्डोज हाल विश्वका १ अर्बभन्दा धेरै मानिसले प्रयोग गर्दछन् । रुसमा माइक्रोसफ्टको बिक्री तथा सेवा बन्द भएसँगै लाखौँ प्रयोगकर्ता प्रभावित हुनेछन् ।
माइक्रोसफ्टका अध्यक्ष ब्राड स्मिथले एक ब्लग पोस्टमा भनेका छन् : विश्वका अन्य ठाउँजस्तै हामी युक्रेनमा युद्धक्षेत्रबाट सार्वजनिक भैरहेका तस्वीर तथा खबरहरूबाट भयभित, क्रोधित र दुखी छौं । हामी रुसद्वारा गरिएको यस अनुचित, अकारण तथा गैरकानुनी आक्रमणको निन्दा गर्दछौं ।
यसअघि गतहप्ता एप्पलले पनि रुसमा आफ्ना सबै प्रडक्टको बिक्रीमा रोक लगाएको थियो । रुसमा आफ्ना प्रडक्टको बिक्री बन्द गर्नुका अलावा एप्पलले रुसी समाचार एजेन्सी आर टी र स्पुतनिकको मोबाइल एपलाई एपस्टोरबाट हटाइदिएको छ ।
एप्पलको एप्पल पे सर्भिस पनि रुसमा बन्द छ । युक्रेनका उपप्रधानमन्त्री माखाइलो फेडोरोभले एक पत्रमार्फत् गरेको अनुरोध पश्चात् एप्पलले यस्तो निर्णय गरेको हो।