तिहारमा चाँदी तथा तामापित्तलका भाँडाको विक्री बढ्यो |
तिहार नजिकिँदै गर्दा नेपाली बजारमा विभिन्न सरसामग्री किन्नेहरूको चहलपहल बढेको छ । अन्य बजारको जस्तै तिहारमा अधिक मात्रामा विक्री हुने चाँदी तथा तामा पित्तलका भाँडाकुडा बजारमा पनि चाप बढ्न थालेको छ । तामा र पित्तलको भाँडाकुडाका लागि उपत्यकामा पाटन शहर प्रसिद्ध छ । त्यसैले, यतिबेला पाटन क्षेत्रका भाँडा निर्माण गर्ने कालिगढदेखि विक्री गर्ने व्यवसायीलाई भ्याइनभ्याई छ ।
पाटन मङ्गलबजारस्थित भाँडा मन्दिरका व्यापारी सुरज ताम्राकार आफूले अर्डर दिएका भाँडाकुडा समेट्न व्यस्त छन् । उनी आगामी शुक्रवारदेखि व्यापार बढ्ने अपेक्षा गरिरहेका छन् । वार्षिक करीब ३० लाख रुपैयाँबराबरको तामा, पित्तल र काँसका भाँडाकुडा विक्री गर्दै आएको उनी बताउँछन् । तिहारको २ दिनमा भने दैनिक ६०–७० हजार रुपैयाँबराबरको भाँडाकुडा विक्री हुने अपेक्षा उनको छ ।
त्यसैगरी पुख्र्यौली पेशाको रूपमा चाँदीको विभिन्न भाँडाकुडा निर्माण गर्दै आएका पाटन कोवाहलका राजीव वज्राचार्य अचेल दैनिक १२ घण्टासम्म काम गर्छन् । उनीसँगै दुई छोरा पनि काममा पनि काममा उत्तिकै जुटेका छन् । तिहारका बेला उलने ३ सयदेखि ४ सय तोला चाँदीको भाँडाकुडा बनाउने गरेका छन् ।
नेपालमा वार्षिक ३ हजारदेखि ४ हजार टन तामा, पित्तल, काँस तथा ढलौटका भाँडाको कारोबार हुने व्यवसायीहरू बताँउछन्् । यसमध्ये १० देखि १५ प्रतिशत तामा र पित्तलका सामग्री तिहारमा विक्री हुन्छ । तामाका विशेषगरी पूजाभाँडा, दैनिक प्रयोग हुने घरायसी भाँडाकुडा, फेशनको रूपमा प्रयोग हुने गरगहना र घर तथा होटलमा आन्तरिक सजावटका वस्तु बन्ने गरेका छन् । तिहारमा विक्री हुने यस्ता सामान नेपालमै हस्तनिर्मित र भारतबाट आयातित हुने गरेका छन् । यो समयमा ७५ प्रतिशत सामान भारतबाट गैरकानूनी रूपमा आयात हुने व्यवसायीको भनाइ छ ।
भारतमा मेशिनबाट निर्मित सामान नेपालको हस्तनिर्मित सामानभन्दा सस्तो पर्छ । त्यसैले, त्यस्ता उत्पादनले सजिलै नेपाली उत्पादन विस्थापित गर्न सक्ने डर नेपाली व्यपारीमा छ । भारतीय उद्योगीले नेपालकै विभिन्न स्थानमा विनादर्ता उद्योग नै सञ्चालन गरेको बताइन्छ । यस्तो गैरकानूनी कार्य नरोकिए यो पेशा नै सङ्कटमा पर्ने खतरा बढेको व्यवसायीहरू बताउँछन् ।
नेपालमा सिङ्गापुर, मलेशिया र दुबईबाट कच्चापदार्थको रूपमा भित्रिने तामालाई जिङ्कसँग सम्मिश्रण गरेर पित्तल, काँस र ढलौट बनाइने गरिएको छ । यस उद्योगमा हाल करीब ६० हजार मानिस प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा संलग्न भएको अनुमान छ ।