६ लाख ३५ हजार भारुमा सार्वजनिक भयो नयाँ बलेनो |
भारतमा सुजुकीको नयाँ बलेनो सार्वजनिक भएको छ। भारतीय अटोमोबाइल म्यानुफ्याक्चर कम्पनी मारुती सुजुकीले बुधबार फेसलिफ्ट गरिएको प्रिमियम ह्यचब्याग बलेनो २०२२ सार्वजनिक गरेको हो।
नयाँ बलेनो २०२२ सिंग्मा, डेल्टा, जेटा, जेटा (ओ), अल्फा, अल्फा (ओ) गरी विभिन्न ६ ट्रिममा उपलब्ध छ। यसलाई थप ११ भेरियन्टमा विभाजन गरिएको छ। अटो हिन्दुस्तानका अनुसार सुजुकीले नयाँ बलेनेको बाहिरी र भित्री आवरणसँगै यसको विशेषताहरूमा परिमार्जन गरेको छ।
यसमा १.२ लिटर डुअल जेड पेट्रोल इन्जिन जडित छ। जसले ८९ एचपी पावर र ११३ एनएम टर्क जेनेरेट गर्छ। यो इन्जिन ५ स्पीड म्यानुअल र अटो गियर सिफ्ट ट्रानसमिसनमा उपलब्ध छ।
म्यानुअल ट्रान्समिसन भएको नयाँ बलेनोले प्रतिलिटर २२.३ किलोमिटरसम्मको रेन्ज दिने बताइएको छ भने अटोमेटिक भेरियन्टले प्रतिलिटर २२.९ किलोमिटरको रेन्ज प्रदान गर्नेछ।
नयाँ बलेनोको अगाडि भागको ग्रिल र बम्पर पुनः डिजाइन गरिएको छ। यो पहिलेको भन्दा पनि देखिन्छ। यसमा नयाँ सेटको एलइडी एलइडी प्रोजेक्टर हेडल्याम्प पाउन सकिन्छ। यसमा १६ इन्चको अलोय ह्विल दिइएको छ भने पछाडि भागमा टेललाइट पनि एलइडी छ।
त्यस्तै, गाडीको भित्री डिजाइनिङमा पनि कम्पनीले परिमार्जन गरेको छ। यसमा डुअल-टोन इन्टेरिअर पाउन सकिन्छ भने ड्यासबोर्ड पनि फराकिलो छ। गाडीमा पछाडि सिटहरूको लागि एसी भेन्ट र फास्ट चार्जिङ पोर्ट पनि दिइएको छ।
२०२२ मारुती सुजुकी बलेनोमा ९ इन्चको डिजिटल टचस्क्रिन इन्फोटेनमेन्ट प्रविधि, नयाँ डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, नयाँ स्टेरिङ ह्विल र क्लाइमेट कन्ट्रोलको लागि नयाँ स्विच दिइएको छ।
त्यस्तै, गाडीमा ३६० भ्यू क्यामेरा, हेड-अप-डिस्प्ले स्क्रिन, ४० भन्द बढी कनेक्टिभिटी फिचर भएको सुजुकी कनेक्ट एपलगायत विशेषताहरू समावेश गरिएको छ। उक्त एपमार्फत गाडीको स्थिति पनि थाहा पाउन सकिन्छ।
कम्पनीको नयाँ बलेनो निलो, सेतो, सिल्भर, रातो, बेन्जी र ग्रे गरी ६ विभिन्न रंग विकल्पमा उपलब्ध छ। यसले बजारमा उपलब्ध टाटा अल्ट्रोज, हुन्डाई आई-२० र होन्डा ज्याजसँग प्रतिस्पर्धा गर्ने भारतीय अखबार अटो हिन्दुस्तानले जनाएको छ।
कम्पनीले नयाँ बलेनोको सुरुवाती मूल्य भारु ६ लाख ३५ हजार रुपैयाँ तोकेको छ। यसको टप भेरियन्ट अल्फाको मूल्य भारु ९ लाख ४९ हजार तोकिएको छ।