युवानेताको सहयोग विद्यार्थीलाई, १८ जना विपन्न विद्यार्थीले पाए कापी र डटपेन |
ओखलढुंगा । नेपाली कांग्रेस ओखलढुंगाका युवा नेता तथा महासमिति सदस्य कुमार लुइँटेलले आफ्नो सक्रियतामा सञ्चालित शैक्षिक अभियानअन्तर्गत ओखलढुंगाको सुनकोशी गाउँपालिका– ९, ककनीका विपन्न परिवारका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेका छन् । उनले चम्पादेवी आधारभूत विद्यालयका विपन्न परिवारका १८ जना विद्यार्थीलाई सहयोगस्वरुप शैक्षिक सामग्री वितरण गरेका हुन् ।
लुइँटेलले चम्पादेवी ककनीमा ककनी युवा क्लबले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमका अवसरमा आफैंले ती विद्यार्थीलाई सहयोगस्वरुप १ दर्जन कापी र डटपेन वितरण गरेका हुन् । पछिल्लो समय जिल्लामा लोकप्रिय बन्दै आएका लुइँटेलले यसअघि पनि सोही अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानका विद्यार्थीहरूलाई सहयोग गर्दै आएका छन् ।
जिल्लाका हरेक क्रियाकलापमा सक्रिय सहभागिता जनाउँदै आएका लुइँटेल जिल्लामा नाम कहलाएका युवा नेतामध्येमा पर्छन् । सो अवसरमा पूर्व सांसद राहरि खतिवडा, सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्र अधिकारीलगायतको उपस्थिति रहेको थियो ।