राष्ट्र बैंकले टेण्डरमार्फत रू. १ अर्ब ४३ करोड निक्षेप लगानी गर्दै | लगानी बैंक तथा वित्तीय संस्थामा, आवेदन दिने म्याद यही कात्तिक ३० गतेसम्म
काठमाडौं । नेपाल राष्ट्र बैंकले बोलपत्रमार्फत १ अर्ब ४३ करोड १२ लाख रुपैयाँ निक्षेप लगानी गर्ने भएको छ । राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूमा त्रैमासिक रूपमा ब्याज भुक्तानी गर्ने गरी आगामी मंसिर २ गतेदेखि २०७६ कात्तिक ३० गतेसम्मका लागि उक्त निक्षेप लगानी गर्ने भएको हो ।
बैंकले एक सूचनामार्फत आफूले लिन चाहेको रकम तथा सो रकमका लागि प्रस्ताव गरिएको ब्याजदरसमेत खुलाई शिलबन्दी दरभाउपत्रसम्बन्धी फारम भरी पेश गर्न आग्रह गरेको छ । राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकलाई रू. १ अर्ब १४ करोड ५० लाख, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकलाई रू. २१ करोड ४६ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा रू ७ करोड १६ लाख लगानी गर्ने बताएको छ । आवेदन भर्ने म्याद भोलि कात्तिक २० गते मंगलवार अपरान्ह ३ बजेसम्म रहेको राष्ट्र बैंकले बताएको छ ।
केके छन् शर्तहरू ?
बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको, बैंकबाट तोकिएको न्यूनतम पूँजी कोष कायम रहेको, निष्क्रिय कर्जा कूल कर्जा सापटको ५ प्रतिशतभन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सोभन्दा बढी रहेको बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउने शर्त राखिएको छ ।
यस्तै, कर्जास्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समयसमयमा निर्धारण गरेको सीमाभित्र रहेको, अघिल्लो आर्थिक वर्षमा सञ्चालन मुनाफामा रहेको, घर कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको, सम्बन्धित बैंक तथा वित्तीय संस्थाको सञ्चालक, प्रमुख कार्यकारी अधिकृतलाई कुनै पनि जरिवाना भएको हुन नहुने प्रावधान छ । सुधारात्मक कारबाही भएको भए फुकुवा भएको ६ महीना पूरा भएको, सर्वसाधारणका लागि छुट्याइएको शेयर जारी गरिएको हुनुपर्ने शर्तसमेत राखिएको छ ।
राष्ट्र बैंकका अनुसार राष्ट्र बैंकका विभिन्न कोषमा रहेको देहायबमोजिमको रकम निक्षेप लगानी गर्न लागिएको हो ।