१५.५० अंक घट्यो नेप्से, ३ अर्ब १३ करोड रुपैयाँको कारोबार |
काठमाडौं । बुधबार नेप्से परिसूचक १५.५० अंक घटेर २७२०.४३ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ५.२२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१७ अंक घटेको छ।
आज ६२ लाख ४७ हजार ७७४ कित्ता शेयर (धितोपत्र) ३ अर्ब १३ करोड १२ लाख १० हजार २८२ रुपैयाँमा कारोबार भएको छ । मंगलबार ३ अर्ब २० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा बुधबार कारोबार रकम पनि घटेको हो ।
यस दिन १३ उपसमूहको परिसूचकमध्ये जलविद्युत र म्युचुअल फण्ड उपसमूहको परिसूचक बढेको छ भने बाँकीको घटेको छ। एमसीसी पास हुने अपेक्षाले लगानीकर्ताहरु जलविद्युत कम्पनीहरुमा आकर्षित भएको जानकारहरुको भनाइ छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक १.०७ प्रतिशत बढेको छ भने म्युचुअल फण्डको ०.८४ प्रतिशत बढेको छ।
यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक २ प्रतिशत घटेको छ। त्यसैगरी, व्यापार, होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन्।
कारोबार रकमका आधारमा यस दिन नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन घलेम्दी हाइड्रोपावरको करिब १३ करोडको शेयर किनबेच भएको छ।
नेप्से ओरालो लागेपनि यस दिन दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन दिव्यश्वरी हाइड्रोपावर र युनाइटेड इदी मार्दी आरबी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशत बढेको हो। त्यसैगरी, यस दिन घलेम्दी हाइड्रोको शेयरमूल्य ९.२२ प्रतिशत बढेको छ भने तेह्रथुम पावर कम्पनीको शेयरमूल्य ८.८४ प्रतिशत बढेको छ।