आज यमपञ्चकको पहिलो दिन काग तिहार |
काठमाडौं । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात तिहार आजबाट शुरु भएको छ । तिहारको पहिलो दिन आज कागको पूजा गरी मनाइँदै छ ।
आज कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । कागलाई यमदूत र प्रकृतिको कुचिकार पनि भनिन्छ । आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा काग रुपी महादेवलाई पूजा गर्ने भक्तजनको भीड लाग्छ ।
आजै बेलुकादेखि घरघरमा परिवार संख्याका आधारमा यमदीप दान गर्ने विधि छ । यमपञ्चकको दोस्रो दिन कुकर तिहार र तेस्रो दिन लक्ष्मी पूजा गरिन्छ । चौथो दिन गोबद्र्धन पूजा गरेपछि पाँचौं दिन भाइटीका लगाइन्छ । यस वर्षको भाइटीकाको साइत कात्तिक २३ गते शुक्रबार मध्याहृन ११ बजेर ५५ मिनेटमा उत्तम रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
चन्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ । यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ ।