लघुवित्त कम्पनीहरुको नाफा ३६.७२% ले बढ्यो |
काठमाडौं । पुस मसान्तसम्म आइपुग्दा लघुवित्त कम्पनीहरुले समग्रमा ६ अर्ब ६ करोड ८९ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यो अघिल्लो वर्षको भन्दा ३६.७२% ले बढी हो । अघिल्लो वर्ष यसैअवधिमा लघुवित्त कम्पनीहरुले समग्रमा ४ अर्ब ४३ करोड ८९ लाख ९९ हजार रुपैयाँ नाफा कमाएका थिए । यो हालसम्म वित्तीय विवरण सार्वजनिक गर्ने ४८ लाघुवित्तको नाफा हो ।
एक वर्षको अवधिमा धेरै कम्पनीको खुद नाफालगायत प्रमुख सूचकहरुमा सुधार भएको छ । चुक्ता पुँजी, खुद ब्याज आम्दानी र खुद नाफालगायत प्रमुख सूचकहरुमा छिमेक लघुवित्त अगाडि रहेको छ । धेरै जगेडा कोष स्वावलम्बन लघुवित्तको रहेको छ भने प्रतिसेयर आम्दानीमा फरवार्ड माइक्रोफाइनान्स अगाडि छ ।
सबैभन्दा धेरै पुँजी छिमेक लघुवित्तको
दोस्रो त्रैमाससम्ममा लघुवित्त कम्पनीहरुको समग्रमा चुक्ता पुँजी २६.३३% ले बढेर २७ अर्ब ४७ करोड ६९ लाख ६८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा लघुवित्त कम्पनीहरुको चुक्ता पुँजी २१ अर्ब ७४ करोड ९७ लाख १७ हजार रुपैयाँ थियो । यसअवधिमा सबैभन्दा धेरै चुक्ता पुँजी छिमेक लघुवित्तको रहेको छ ।
यसको पुँजी २७% ले बढेर २ अर्ब ३२ करोड ४१ लाख रुपैयाँ पुगेको छ । निर्धन उत्थानको चुक्ता पुँजी २ अर्ब १९ करोड ५० लाख २५ हजार रुपैयाँ छ । अरु ८ कम्पनीको पुँजी १ अर्ब रुपैयाँ माथि छ । एक वर्षको अवधिमा ४२ कम्पनीको पुँजी बढेको छ भने ६ कम्पनीको पुँजी गत वर्षकै यथावत रहेको छ ।