सरकारलाई निर्मलाका बुबाको आमरण अनशन बस्ने चेतावनी | कात्तिक २५ गतेदेखि जिप्रकामा धर्ना, त्यति गर्दा पनि नभए आमरण अनशन
कैलाली । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका बुबा यज्ञराज पन्तले सरकारलाई अब पनि दोषी पत्ता लगाउन नसके सपरिवार आमरण अनशनमा ओर्लिने चेतावनी दिएका छन् । उनले आज आफ्नै निवासमा पत्रकार सम्मेलन गरी त्यस्तो चेतावनी दिएका हुन् ।
उनले कात्तिक २५ गतेदेखि जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने र त्यति गर्दा पनि सुनुवाइ नभए सपरिवार आमरण अनशनमा ओर्लिने चेतावनी दिएका छन् । हत्यामा संलग्न दोषी पत्ता लगाउन १ हप्ताको अल्टिमेटम दिएका उनले कात्तिक २५ गतेदेखि जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने र त्यति गर्दा पनि सुनुवाइ नभए सपरिवार आमरण अनशन बस्ने चेतावनी दिएका हुन् ।
निर्मला पन्तको हत्या भएको तीन महिनाभन्दा बढी भइसकेको छ । उक्त हत्यामा संलग्न अपराधीको खोजी गर्न सरकारले चासो नदेखाएको उनको आरोप छ । उनले घटनाको छानबिनका लागि विभिन्न टोली गठन गरे पनि हालसम्म घटनामा संलग्न दोषी पत्ता लगाई कारबाही गर्न नसकेको भन्दै सरकारले घटनालाई थामथुम पार्न खोजेको आरोप लगाए ।