बिहारका पूर्वमुख्यमन्त्री लालु यादवलाई पाँच वर्षको जेल सजाय |
काठमाडौं । बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवलाई पाँच वर्षको जेल सजाय सुनाइएको छ । चारा घोटाला काण्डमा दोषी ठहर भएका यादवलाई ५ वर्षको जेल सजाय सुनाइएको हो ।
राष्ट्रिय जनता दलका प्रमुखसमेत रहेका यादवलाई झारखण्डस्थित सीबीआईको विशेष अदालतले चारा घोटाला काण्डमा गत मंगलबार दोषी ठहर गरेको थियो । उनलाई दोरन्दा कोषबाट अवैध रुपमा एक अर्ब ३९ करोड ३५ लाख निकालेको सम्बन्धी मुद्दामा दोषी ठहर गरिएको हो ।
दोषी ठहर भएका यादवलाई सोमबार पाँच वर्षको जेल सजायसहित ६० लाख जरिवाना सुनाइएको भारतीय समाचार माध्यमले जनाएका छन् । उनलाई चारा घोटालासम्बन्धी चारवटा अन्य मुद्दामा यसअघि नै दोषी ठहर गरिएको थियो ।
तीन दशकअघि भएको ९ अर्ब ५० करोड बराबरको उक्त घोटालामा सीबीआईले ६४ वटा मुद्दा दर्ता गरेको थियो । यसमध्ये यादवको नाममा ६ वटा मुद्दा रहेका थिए । चारवटा मुद्दामा दोषी ठहर भएपछि यादवलाई १४ वर्षको जेल सजाय सुनाइएको थियो ।