उपत्यका बाहिर चारवटा विमानस्थलको रनवे विस्तार गरिदै, डेढ वर्ष भित्र सक्ने लक्ष्य |
काठमाडौं । उपत्यका बाहिरका चारवटा विमानस्थल विस्तार गरिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार चन्द्रगढी, भरतपुर, धनगढी र सिमीकोट विमानस्थलको रनवेहरुमा पाँच सेन्टिमिटर देखि छ सेन्टिमिटर सम्म विस्तार गरिने छ ।
यसका लागि प्राधिकरणले ठेक्काको प्रकृया शुरु गरिसकेको छ । चन्द्रगढी, भरतपुर र धनगढी विमानस्थलको रनवे विस्तारको काम सुरु भएको एक वर्ष भित्र सक्ने र सिमिकोट विमानस्थलको रनवे विस्तारको काम डेढ वर्षभित्र सक्ने योजना रहेको छ । १५ सय सेन्टिमिटर लम्बाई रहेको चन्द्रगढी विमानस्थलको धावनमार्गको पिचको मोटाई १० सेन्टिमिटर छ । प्राधिकरणले धावनमार्गको पिचमा थप छ सेन्टिमिटर मोटाइ थप्न लागेको प्राधिकरणले जनाएको छ ।
१२ सय ४५ मिटर लम्बाई रहेको भरतपुर विमानस्थलको धावनमार्गको पिच १० सेन्टिमिटर मोटाई रहेकोमा थप छ सेन्टिमिटर मोटाइ थप्न लागेको प्राधिकरणले जानकारी दिएको छ । १८ सय मिटर लम्बाई रहेको धनगढी विमानस्थलको रनवे पिच १० सेन्टिमिटर मोटाइ रहेकोमा थप छ सेन्टिमिटर मोटाइ थप्न लागेको प्राधिकरणले बताएको छ ।
त्यस्तै ६ सय ५० मिटर लम्बाई रहेको सिमिकोट विमानस्थलको रनवे पिच १० सेन्टीमिटर मोटाइ रहेकोमा पाँच सेन्टिमिटर मोटाइ थप्न लागेको प्राधिकरणले बताएको छ । रनवे पीच विस्तार गर्न लागिएको चन्द्रगढी, भरतपुर र धनगढी विमानस्थल ट्रंक रुट अन्तर्गत पर्छन भने सिमिकोट विमानस्थल स्टोल रुट अन्तर्गत पर्छ ।