तिहारका लागि ६० करोडको झिलिमिली बत्ती आयात |

काठमाडौं । ‘झिलिमिली बत्तीको चाड’ भनेर चिनिने तिहार शुरू हुँदै गर्दा घर सजावटमा सबैको आकर्षण बढेको छ । तुलनात्मक रूपमा चाडपर्वको समयमा घरको सफाइदेखि सजावटमा बढी ध्यान दिइने हाम्रो संस्कार पनि छ । त्यसैले विभिन्न किसिमका रंगीबिरंगी बत्तीको बिक्री वितरण तिहार नजिकिएसँगै उच्च छ ।
अहिले तिहारका लागि बजारमा यस्ता बत्तीको कारोबार सुरु भइसकेको छ । इलेक्ट्रिक पसलदेखि विभिन्न खुद्रा पसलहरुमा समेत सिजनल ब्यापारका रुपमा बत्ती बेच्ने क्रम शुरु भएको नेपाल इलेक्ट्रिक व्यवसायी महासंघका अध्यक्ष तेजनारायण खरेल बताँउछन् । उनका अनुसार तिहारमा यो वर्ष ५० देखि ६० करोडभन्दा बढी मूल्य बराबरको झिलिमिली बत्ती नेपाल भित्रिएको छ ।

यो बत्ती कारोबार हुँदा भने डेढ अर्ब रुपैयाँ बराबर हुने बताइन्छ । यसमा उपभोक्ताले बिजुलीको महशुलको हिस्सा समावेश छैन । तिहारको समयमा यस्ता बत्ती धेरै जोडिने भएकाले बिजुलीको माग दोब्बर भन्दा बढी खपत हुन्छ ।
चीनबाट सबैभन्दा धेरै आयात
तिहारका लागि सबैभन्दा धेरै भारत र चीनबाट नेपालमा बत्तिकको आयात हुन्छ । यस्ता बत्तीमध्ये ९० प्रतिशत चीनबाटै आयात हुने गरेको छ । ‘घरको सबै ठाउँ उज्यालो राख्नुपर्ने मान्यताका कारण घरका सबै होल्डरमा बत्ती जोड्ने गरिएको छ,’ अध्यक्ष खरेलले भन्छन, ‘त्यसैकारण साधारण बल्ब पनि यो समयमा अत्याधिक विक्री हुन्छ ।’

लोडसेडिङको समयमा समाधान भएकाले पछिल्ला वर्षहरुमा तिहारमा यस्ता बत्तीको माग दोब्बर भएको व्यावसायी बताउँछन् ।
तर, धेरैले एक वर्ष किनेपछि अरु वर्षमा पनि प्रयोग गर्न मिल््ने भएकाले ठूलो मात्रामा अब माग नबढ्ने दावी अध्यक्ष खरेलको छ ।