नेपाल इन्टरनेट फाउन्डेसनले विविध जनचेतामूलक कार्यक्रम आयोजना गरी मनायो सुरक्षित इन्टरनेट दिवस |
काठमाडौं । नेपाल इन्टरनेट फाउन्डेसनले पनि सुरक्षित इन्टरनेट दिवस मनाएको छ । विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी फाउन्डेसनले सुरक्षित इन्टरनेट दिवस मनाएको हो ।
फाउन्डेसनले फेब्रुअरी ८ अर्थात सुरक्षित इन्टरनेट दिवसको दिन भर्चुअल कार्यक्रम “राम्रो इन्टरनेटको लागि हातेमालो” सञ्चालन गरेको थियो । उक्त कार्यक्रममा धेरै विद्यार्थी र पालनपोषण गृहका संस्थापक बैठकमा उपस्थित भएका थिए ।
सुरक्षित इन्टरनेट दिवसको अवसरमा जेसीआई बुद्धनिलकण्ठका अध्यक्ष प्रदीप धमलाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा कास ट्रेडिङका महाप्रबन्धक तथा संस्थापक निर्देशक प्रमुख वक्ता भूषण रत्न बज्राचार्यले सुरक्षित इन्टरनेट प्रयोगको बारेमा प्रशिक्षण दिएका थिए ।
त्यस्तै वर्ल्डलिंक मार्केटिङ म्यानेजर तेन्जिन चोग्यालले बालबालिकालाई अनावश्यक सामग्रीबाट जोगाउन र बालबालिकालाई सुरक्षित राख्न वर्ल्डलिंकका सुविधाबारे र सेफ नेटको प्रयोग गर्ने तरिक प्रस्तुती दिएका थिए ।
कार्यक्रमको अन्त्यमा नेपाल इन्टरनेट फाउण्डेशनका अध्यक्ष विक्रम श्रेष्ठले आफ्नो समापन मन्तव्य राख्दै सुरक्षित इन्टरनेट दिवसको पोस्टर प्रस्तुत गरेका थिए ।
सुरक्षित इन्टरनेट दिवसकै अवसरमा फेब्रुअरी ११ मा नेपाल इन्टरनेट फाउण्डेशनले बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बाल कृष्ण श्रेष्ठ र वडा प्रतिनिधिलाई पोस्टर वितरण गरी कार्यक्रम बारे छलफल गरेको छ ।
त्यस्तै १२ फेब्रुअरीमा फाउन्डेसनले सुरक्षित इन्टरनेट दिवस २०२२ को अवसरमा शनिबार बुढानीलकण्ठ नगरपालिकाका तीन वटा बाल आश्रम पालनपोषण गृहमा सन्देशमुलक पोस्टर विमोचन गरेको छ ।
कार्यक्रमको मुख्य उद्देश्य बालबालिकालाई इन्टरनेटमा के गर्ने र के नगर्ने भनेर जनचेतना र सचेत गराउनु रहेको छ । वर्ल्डलिंक कम्युनिकेसनको सहकार्यमा नेपाल इन्टरनेट फाउन्डेसनले बुढानिलकण्ठ नगरपालिकाका ३७ वटा बाल आश्रममा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ ।
त्यसैगरी फाउनडेसनले ३ वटा संस्थामा सुरक्षित इन्टरनेट बारे पोष्टर वितरण गर्दै सुरक्षित इन्टरनेटको प्रयोग बारे जानकारी पनि दिएको छ । एकता बालबालिका विकास केन्द्रका संस्थापक भानु शर्मालाई नेपाल इन्टरनेट फाउण्डेशनका अध्यक्ष विक्रम श्रेष्ठले सुरक्षित इन्टरनेटको बारेमा आफ्नो ज्ञान व्यक्त गर्दै इन्टरनेट सेवाबाट हुने अपराध र त्यसको समाधानका बारेमा जानकारी दिँदै पोस्टर हस्तान्तरण गरेका थिए । केन्द्रमा १४ जना बालिकाले शिक्षा लिइरहेका छन् ।
यस्तै बाल अपाङ्ग टेवा संघका संस्थापक डेन्डी शेर्पालाई पनि नेपाल इन्टरनेट फाउण्डेशनका अध्यक्ष विक्रम श्रेष्ठले सुरक्षित इन्टरनेटको बारेमा आफ्नो ज्ञान र सीप व्यक्त गर्दै इन्टरनेटको बारेमा आफ्नो अनुभव र सुरक्षित इन्टरनेट चलाउने बारे प्रशिक्षण दिएका थिए । संघले २२ जना अपाङ्गलाई शिक्षा तथा तालिम प्रदान गर्दै आएको छ ।
साथै पवित्र समाज सेवा नेपालकी संस्थापक दीक्षा चापागाईंलाई फाउन्डेसनका अध्यक्ष श्रेष्ठले पोष्टर हस्तान्तरण गरेका छन् । पवित्र समाज सेवामा करिब ५० जना अनाथ तथा वृद्धवृद्धा रहेका छन् ।