अनलाइन पोर्टल ‘भेषभूषा डटकम’ सञ्चालनमा |
काठमाडौं । सौन्दर्य, फेसन र जीवनशैलीसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डहरु पाइने इकमर्स अनलाइन पोर्टल ‘भेषभूषा डटकम’ सञ्चालनमा आएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच महानायक राजेश हमालले उक्त अनलाइन पोर्टलको उद्घाटन गरेका हुन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका ३४ ब्राण्डका सामग्री पाउने पोर्टल सुरु भएको हो । काठमाडौंमा बिक्री तथा डेलिभरी सेवा केन्द्रित रहेको भेषभूषा डटकमले सौन्दर्य, फेसन र जीवनशैली सम्बन्धित विश्वस्तरीय ब्राण्डहरुलाई नेपालमै उत्कृष्ट ढंगले ई वितरण प्रणालीमा लगिएको दाबी गरेको छ ।
भेषभूषा डटकमकी प्रमुख कार्यकारी अधिकृत(सीईओ) तृष्णा आचार्यको दाबी अनुसार विश्व प्रख्यात ब्राण्डहरुको नेपालमा पहिलो डिजिटल प्लेटफर्मको सुरुवात भएको हो । भेषभूषा डटकममार्फत अनलाइन र अफलाइन सेवा संयन्त्र मार्फत खरिद, परामर्श र अन्तरक्रियाको काम पनि हुने सीईओ आचार्यले बताइन् । भेषभूषा डटकममा ईरिक, पिक,एडिडास, सिरोना, अभानी लगायतका ब्राण्डहरु रहेका छन् ।
भेषभूषा डटकमका अध्यक्ष दिपक पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा मेघा बैंककै डेपुटी सीईओ रवीना देसराज, आर्थिक पत्रकार समाज(सेजन)का अध्यक्ष जनार्दन बराल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।