दोलखाको कालीञ्चोकमा केबुलकार चल्यो, शुल्क ५ सय मात्र |
काठमाडौं । आजबाट दोलखाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालीञ्चोकमा व्यावसायिक रुपमा केवलकार सञ्चालनमा आएको छ । दशैंँअघि नै परीक्षण गरिएको केबुलकार आजदेखि व्यावसायिक रुपमै सञ्चालनमा आएको हो । केबलकार सञ्चालनमा आएपछि कालीञ्चोक जाने दर्शनार्थीहरु लाई सहज हुने भएको छ ।
कालीञ्चोक केबलकारको चारवटा डब्बा रहेकोमा एउटा डब्बामा एक पटकमा १० जनाले यात्रा गर्न सक्ने कालीञ्चोक दर्शन लिमिटेडले जानकारी दिएको छ । त्यसमध्ये हाल एउटा डब्बा सञ्चालनमा ल्याइएको छ ।
कालीञ्चोक दर्शन लिमिटेडले साँढे दुई वर्षअघि निर्माण शुरु गरेको कालीञ्चोक केबुलकार करीब ४५ करोडको लागतमा सम्पन्न भएकोे हो । केबलकारमा यात्रा गर्न आउने यात्रुलाई प्रतिव्यक्ति पाँच सय शुल्क लिएर सेवा प्रदान गरिएको बताइएको छ ।
कालीञ्चोक क्षेत्रका मानिसलाई भने केही सहुलियत हुने कालीञ्चोक दर्शन लिमिटेडले जानकारी दिएको छ । स्वीस प्रविधिबाट निर्माण भएको केबुलकार देशका अन्य स्थान मनकामना र चन्द्रागिरीको भन्दा फरक प्रविधिको रहेको छ । केबुलकार सञ्चालनमा आएपछि दोलखाको पर्यटन विकासमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।