माउण्टेन इनर्जीको खुद नाफा यो वर्ष करिब ९ गुणाले बृद्धि |
काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म माउण्टेन ईनर्जी नेपाल लिमिटेडले रू. ४२ करोड ६३ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा ८ दशमलव ८८ गुणा बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ४ करोड ७९ लाखभन्दा बढी यो नाफा गरेको थियो ।
यस वर्ष कम्पनीको सञ्चालन नाफा ८ दशमलव ५७ गुणा बढी भएकाले पनि कम्पनीको खुद नाफामा उल्लेख्य बृद्धि भएको हो । गत वर्ष रू. ६ करोड १५ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ५२ करोड ७२ लाखभन्दा बढी यो नाफा गरेको हो । विद्युत विक्रीबाट गत वर्ष रू.८ करोड २१ लाख आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ६८ करोड २१ लाखभन्दा बढी आम्दानी गरेको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ९६ करोड ८० वलाख २७ हजार रहेको छ भने जगेडा कोष रकम रू. ८३ करोड १५ लाखभन्दा बढी छ । चुक्तापूँजीमा कुनै परिवर्तन भएको छैन भने कम्पनीको जगेडा कोष रकम पनि गत वर्षभन्दा १४२ दशमलव ८७ प्रतिशत बढी भएको छ । कम्पनीले कर्जा तथा सापटी रकम गत वर्षभन्दा शून्य दशमलव ४८ प्रतिशत बढी रू. ३ अर्ब ८७ करोड ३८ लाख रहेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. २१ दशमलव ६६ र प्रतिशेयर नेटवर्थ रू. १४२ दशमलव २५ रहेको छ ।