फेसबुकको ३३ प्रतिशतले आम्दानी बढ्यो |
फेसबुकको जुलाईदेखि सेप्टेम्बरसम्मको त्रैमासमा ३३ प्रतिशतले आम्दानी बढाएको छ । अब यसको आम्दानी १३.७३ अर्ब डलर पुगेको छ । विश्लेषकहरूले १३.७८ अर्ब डलर पुग्ने अनुमान गरेका थिए । यो सँगै मासिक सक्रिय प्रयोगकर्ताहरूको संख्यामा १० प्रतिशतले बढोत्तरी भएको छ ।
प्रयोगकर्ता बढेर अहिले २.२७ अर्ब पुगेको छ । तर, विश्लेषकहरूले २.२९ अर्ब पुग्ने अनुमान गरेका थिए । फेसबुकका संस्थापक मार्क जुकरबर्गले भने, ‘आगामी बर्ष फेसवुकमा ठूलो मात्रामा लगानी गर्ने योजना रहेको छ । फेसबुक वाच, इंस्टाग्राम टिभी र फेसबुक मार्केटप्लेस जस्ता नयाँ उत्पादन बनाउने र साइबर सेक्यूरिटी बढाउनमा हाम्रो फोकस रहनेछ ।’ जुलाईदेखि सेप्टेम्बरमा फेसबुकको दैनिक सक्रिय प्रयोगकर्ताहरुको संख्यामा बार्षिक आधारमा ९ प्रतिशतले बढोत्तरी भएको छ ।
फेसबुकको प्रतिशेयर आम्दानी अनुमान गरेभन्दा उत्कृष्ट देखिएको छ । जुलाईदेखि सेप्टेम्बरसम्मको ३ महिनाको अवधिमा ईपीएस बार्षिक आधारमा ९ प्रतिशतले बढेर १.७६ डलर पुगेको छ । विश्लेषकहरूले १.४७ डलरको अनुमान लगाएका थिए ।
फेसबुकका अनुसार करिब २.६ अर्ब मानिसहरू हरेक महिना फेसबुक र त्यससँग सम्बन्धित एप (इंस्टाग्राम, व्हाट्सएप, म्यासेन्जर) प्रयोग गरिरहेका छन् । करिब २ अर्ब मानिसहरूले हरेक दिन ती एपको प्रयोग गरिरहेका छन् ।