केशव स्थापित प्रदेश मन्त्रीबाट बर्खास्त |

काठमाडौं । प्रदेश ३ सरकारका भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापित सो पदबाट बर्खास्तगीमा परेका छन् । उनलाई प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सो पदबाट बर्खास्त गरेका हुन् । मुख्यमन्त्री पौडेलले स्थापित संविधानको धारा १६९ को उपाधारा २ को खण्ड ख अनुसार बर्खास्त गरी उक्त जिम्मेवारी पनि आफैंले लिएको पौडेलका स्वकीय सचिव अनुप पौडेलले जानकारी दिएका हुन् ।
‘संविधानले दिएको अधिकारअनुसार नै मुख्य मन्त्रीले मन्त्री स्थापितलाई बर्खास्त गर्नुभएको छ’, स्वकीय सचिव पौडेलले भने, ‘तत्काललाई स्थापितले सम्हालेको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको जिम्मेवारी पनि मुख्यमन्त्री आफैंले नै सम्हाल्नुहुनेछ ।’
बुधवार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकमा बर्खास्तगीमा परेका मन्त्री स्थापित र मुख्य मन्त्री पौडेलबीच चर्काचर्की नै परेको थियो । बैठकमै मुख्यमन्त्री पौडेलमाथि अपशब्द प्रयोग गरेर गाली गरेको आरोप स्थापितमाथि लागेको थियो । बैठकमा प्रदेशको भौतिक विकासको जिम्मेवारी सम्हालेका मन्त्री स्थापित र उनको मन्त्रालयको सुस्त गतिलाई बढाउन मुख्य मन्त्रीले आग्रह गरेपछि विवाद शुरू भएको थियो ।
जनतासँग प्रत्यक्ष जोडिने भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको गति सुस्त भएको र मन्त्री स्थापितको पनि कार्यशैली ठीक नभएको मुख्यमन्त्री पौडेलले बताएपछि मन्त्री स्थापित बैठकमै आक्रोशित भएका थिए । प्राप्त जानकारीअनुसार मन्त्रिपरिषद्को बैठकमै शुरू भएको चर्काचर्की गालीगलौजसम्म पुगेको थियो ।
त्यसपछि उनलाई मन्त्रिपरिषद्बाट हटाउन मुख्य मन्त्री पौडेल र अर्का मन्त्री कैलाश ढुंगेल प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग परामर्शका लागि राजधानी आएका थिए । स्थापितलाई नहटाए आफूले काम गर्न नसक्ने भनाइ पौडेलले प्रधानमन्त्रीसँग शिक्षण अस्पतालमै पुगेर राखेका थिए ।