अवैध सुन किन्न काठमाडौं आएका सिद्दिकी नागढुंगामै पक्राउ | स्रोत नखुलेको २२ लाख ५० हजार नगदसहित उनलाई आजै राजस्व अनुसन्धानमा पठाइयो

काठमाडौं । काठमाडौंको नागढुंगाबाट एक व्यक्ति शरीरमा लुकाई छिपाई ल्याएको २२ लाख ५० हजार रुपैयाँसहित पक्राउ परेका छन् । अवैध सुन किन्ने उद्देश्यले उक्त रकम बोकेर आएको भन्ने सूचनाका आधारमा नागढुंगा प्रहरीले नेपाली नागरिक मोहम्मद हसीव सिद्दिकीलाई आज पक्राउ गरेको हो ।
प्रहरीले नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको ना५ख ६४७७ नम्बरको यात्रुवाहक बसमा चेक जाँच गर्दा शरीरमा लुकाई छिपाई बोकेको उक्त रकम फेला पारेको हो । प्रहरी स्रोतका अनुसार उक्त रकम काठमाडौंमा अवैध सुन खरिद गर्नका लागि ल्याइएको थियो । बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका–४ का ३६ वर्षीय सिद्दिकीले कपडाको झोला तथा आफ्नो शरीरका विभिन्न स्थानमा सो रकम लुकाएर बोकेका थिए ।
त्यसरी किनेको सुन काठमाडौंबाट भारत पुर्याउने योजना रहेको प्रहरीको दाबी छ । शरीरमा लुकाई छिपाई ल्याएको स्रोत खुलाउन नसकेको उक्त रकमसहित सिद्दिकीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ । बरामद रकमसहित सिद्दिकीलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।