नगरकोटका पर्यटन व्यवसायीले घेरे नगरपालिका | ज्ञापनपत्र बुझाउँदै दोहोरो पर्यटक शुल्कको विरोध
भक्तपुर । नगरकोटका होटल व्यवसायी, पर्यटन व्यवसायी र होटल मजदुरले आज चाँगुनारायण नगरपालिका घेराउ गरेका छन् । उनीहरूले नगरकोट जाने पर्यटकलाई नगरपालिकाले दोहोरो पर्यटक शुल्क लिएकोमा विरोध जनाउँदै ज्ञापनपत्रसमेत बुझाएका छन् ।
व्यवसायीहरूले चाँगुनारायण नगरपालिका र काभ्रेको मण्डन देउपुर नगरपालिकाले नगरकोट घुम्न आउने पर्यटकसँग २०० मिटरको फरकमा दोहोरो पर्यटन शुल्क लिएपछि त्यसको विरोधमा ज्ञापनपत्र बुझाएका हुन् । यसअघि पनि विभिन्न आन्दोलनका कार्यक्रम गर्दै आएको नगरकोट नाल्दुम पर्यटन व्यवसायी संघले चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रलाई नगरपालिकामै पुगेर ज्ञापनपत्र बुझाएको हो ।
नगरकोट नाल्दुम पर्यटन व्यवसायी संघका अध्यक्ष इन्द्र लामाले भने, ‘एउटै ठाउँमा आउने पर्यटकसँग चाँगुनारायण नगरपालिकाले र मण्डन देउपुर नगरपालिकाले गरी दुई ठाउँमा शुल्क उठाउने गरेका छन्, त्यसो हुँदा नगरकोटको पर्यटन व्यवसाय संकटमा परेको छ ।’
उनका अनुसार सडकमा बसेर पर्यटकसँग शुल्क उठाउने काम बन्द गरिनुपर्छ । उनले भने, ‘नगरपालिकाले शुल्क उठाउने ठाउँ धेरै छन्, त्यसमा हामी व्यवसायी सहयोग गर्छौ, एउटा पर्यटकले एक ठाउँ आउँदा दोहोरो पर्यटन शुल्क तिर्दा नगरकोटको पर्यटन धरापमा परेको छ ।’
संघका सचिव धनबहादुर लामाले नगरकोट आउने पर्यटक ५० प्रतिशतभन्दा बढी घटेको बताए । पर्यटकले पनि दुई ठाउँमा कर तिर्नुपर्दा उल्टै गाली गर्ने र अब नगरकोट नआउने भन्दै फर्कने गरेको उनको भनाइ छ ।
संघका प्रवक्ता गोकुल शर्माले दोहोरो पर्यटन शुल्क लिँदा सरकारले मनाउने पर्यटन वर्ष २०२० लाई प्रत्यक्ष रूपमा असर पर्ने बताए । उनले भने, ‘नगरकोट आउन होटल बुक गरेका पर्यटकले समेत दोहोरो करका कारण धमाधम बुकिङ रद्द गरेका छन् ।’ आक्रोशित व्यवसायीले नगरपालिकामा धर्ना दिएर जनप्रतिनिधिमाथि आक्रोश व्यक्त गरेका थिए ।
नगर प्रमुख मिश्रले तिहारपछि बस्ने नगरपालिकाको बोर्ड बैठकमा ज्ञापनपत्र र व्यवसायीको मागबारे छलफल गरिने जानकारी दिए । चाँगुनारायण नगरपालिकाले गत आर्थिक वर्षमा रू. ५१ लाखमा प्रवेश शुल्क उठाउन ठेक्का दिएको थियो भने आव २०७५०७६ का लागि ३ करोडमा (कर बाहेक) ठेक्का दिएको छ । त्यसैगरी काभ्रेको मण्डन देउपुर नगरपालिकाले गत असोज २९ गतेदेखि छुट्टै पर्यटन शुल्क उठाउन थालेको छ ।
चाँगुनारायण नगरपालिकाको वडा नं ६ तेलकोट, वडा नं ८ को कलमसी र चाँगुनारायण मन्दिरअगाडि न्यू दक्षिणकाली निर्माण सेवाले पर्यटकसँग शुल्क उठाउँदै आएको छ भने चाँगुनारायणले सार्क राष्ट्रका पर्यटसँग रू. २०० र सार्कबाहिरकालाई रू. ३०० प्रवेश शुल्क लिँदै आएको छ ।
उता मण्डनदेउपुर नगरपालिकाले नगरकोट आउने पर्यटकमध्ये मञ्जरी निर्माण सेवाले सार्क राष्ट्रका पर्यटकसँग रू. २२६ र सार्कबाहिरका पर्यटकसँग रू. ३३९ पर्यटन शुल्क लिँदै आएको छ ।