गोर्खाज फाइनान्सको सिईओमा घिमिरे नियुक्त |
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा सन्तोष घिमिरे नियुक्त भएका छन् । घिमिरेलाई मंगलबार बसेको सञ्चालक समितिको बैठकले नियुक्त गरेको हो ।
कम्पनीका सिइओ लालबावु थिङले पदबाट राजिनामा दिएपछि उक्त पदमा घिमिरे नियुक्त भएका हुन् । घिमिरेले मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण गरिसकेका छन् । यसअघि घिमिरे सोहि फाइनान्स कम्पनीको डिपुटी सिईओकोरुपमा एक वर्षअघि देखि कार्यरत थिए । उनी नेपाल राष्ट्र बैंकबाट सेवा निवृत्त कर्मचारी हुन् ।
त्यस्तै, कम्पनीका सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक रेशु अग्रवालले सञ्चालक पदबाट राजिनामा दिएकी छिन् । उनको राजीनामा स्वीकृत गर्दै कम्पनीले अग्रवालको ठाउँमा निलम बोहोरालाई नियुक्त गरेको छ भने स्वतन्त्र सञ्चालककारुपमा सागर शर्मालाई नियुक्त गरेको छ ।
असोज १८ गते २६ औं वार्षिक साधारण सभाबाट ६ जना सञ्चालक समिति सदस्य निर्वाचित भएका थिए । जसमा संस्थापकबाट तीन जना र साधारण तर्फबाट तीन जना रहेका छन् । संस्थापक तर्फ प्रम बहादुर खापुङ, डिकेन्द्र कुमार राई र कर्ण बहादुर राइ निर्वाचित भएका थिए भने साधारणतर्फबाट नरेन्द्र कुमार अग्रवाल, रेशु अग्रवाल र गौरव बुढाथोकी निर्वाचित भएका थिए ।
यसमध्ये रेशु र नरेन्द्र एकाघर परिवारको सदस्य रहेका कारण विवाद भएको थियो । जसकारण रेशुले राजिनामा दिईएको जनाईएको छ । कम्पनीको अध्यक्षमा यसअघि नै गौरव बुढाथोकी चयन भएका छन् ।