बैदेशिक लगानीकर्ताका लागि ढोका खुल्लाː अर्थमन्त्री | विश्व बैंकद्वारा तयार गरिएको ʽनेपाल डेभलपमेन्ट अपडेटʼ सार्वजनिक

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले वैदेशिक लगानीकर्ताका लागि ढोका खुल्ला राखिएको बताएका छन् । नेपालमा उड्यन, पूर्वाधार, जलविद्युत, पर्यटन, सूचना तथा प्रविधिका क्षेत्रमा वैदेशिक लगानीकर्ताका लागि ढोका खल्ला राखिएको उनकको भनाई थियो ।
संसारभर संरक्षणवादको हावा चलिरहेको उल्लेख गर्दै उनले भने, ʽठूला देशले व्यापार युद्धका नाममा व्यापारिक संरक्षणवाद लागू गर्न खोज्दा त्यसको नकारात्मक प्रभावबाट नेपाल जस्ता मुलुक गुज्रिएका छन् ।ʼ विश्व बैंकले तयार गरेको ʽनेपाल डेभलपमेन्ट अपडेटʼ सार्वजनिक गर्दै खतिवडाले विप्रेषणले उपभोगलाई बढावा दिँदा त्यसको असर व्यापार घाटासम्म पुगेकोे बताए । नेपालको कूल गार्हस्थ उत्पादनको तुलनामा २० प्रतिशत व्यापार घाटा कायम राख्नु अत्यन्तै चुनौतीपूर्ण छ ।, मन्त्री खतिवडाले भने, ʽटेलिकम कम्पनी, सवारी साधनको आयातलाई रोक्नै नसकिने अवस्था छ ।ʼ

प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले नेपाल सुधारको बाटोमा रहेको दाबी गरे । ʽसरकार समृद्ध नेपाल सुखी नेपाली अभियान अघि सारेर अघि बढेको छ,ʼ खतिवडाले भने । विश्व अर्थ व्यवस्थामा देखापरेको व्यापारयुद्धबाट कसरी बच्ने भन्नेमा नेपाल रहेको स्पष्ट पार्दै मन्त्री खतिडालले भने, ʽविश्वमा संरक्षणवाद पुनः उदाउन खोजेको देखिन्छ, व्यापारयुद्धबाट कसरी बच्ने भन्नेमा नेपाल चिन्तित छ ।ʼ
के छ प्रतिबेदनमा ?
सरकारले सन् २०२१ सम्ममा १० प्रतिशत बिन्दुले लगानी बढाउने लक्ष्य राखेकोले यसका लागि हालको रेमिट्यान्समा आधारित उपभोगमुखी अर्थतन्त्रबाट संरचनागत परिवर्तन गरी लगानी तथा उत्पादकत्वमा आधारित अर्थतन्त्रमा रूपान्तरण गर्न अत्यावश्यक रहेको विश्व बैंकले बिहीबार सार्वजनिक गरेको ‘नेपाल अपडेट’ प्रतिवदेनको निष्कर्ष छ ।
विश्व बैंकले निजी क्षेत्रसँगको सघन सहकार्य तथा सम्भव भएसम्मका स्रोतको दोहनबाटमात्रै नेपाल सन् २०३० सम्ममा मध्यम आय हासिल गर्ने मुलुक बन्ने योजनामा सफल हुने बताएको छ । बैंकले अहिलेको अवस्थामा नेपालको अर्थतन्त्रमा सबैभन्दा बढी रेमिट्यान्सको योगदान उल्लेख्य रहेको स्पष्ट पारेको छ । बढ्दो ब्यापारघाटा नेपालको विकासको मुख्य चुनौती रहेको र उत्पादकत्व घट्दै गएको पनि प्रतिवेदनमा उल्लेख छ । चालू आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर २.८ प्रतिशत, औद्योगिक क्षेत्रको वृद्धिदर ८.८ प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर ७.१ प्रतिशत रहने अनुमान गरिएको छ ।

प्रतिवेदनले आगामी तीन आर्थिक वर्षसम्म नेपालको आर्थिक वृद्धि औषत ६ प्रतिशत रहने प्रक्षेपण गरेको छ । सरकारले चालू आर्थिक वर्षमा ८ प्रतिशत र त्यसपछिका वर्षमा १० प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण गरेको छ । विश्व बैंकको प्रक्षेपणअनुसार चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६.३ प्रतिशत रहने बताइएको छ । आगामी आर्थिक वर्ष सन् २०१९ र २०२० मा ५.९ प्रतिशत र ०२०÷०२१ मा ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सक्ने प्रक्षेपण गरिएको छ ।
प्रतिवेदनअनुसार नेपालको लगानी वृद्धि र आर्थिक वृद्धिको अनुपात सन्तोषजनक रहने उल्लेख छ । बैंकका नेपाल निर्देशक चिमाओ फ्यानले विगतको तुलनामा नेपालमा लगानीको राम्रो वातावरण बने पनि अहिलेको अवस्थामा आर्थिक वृद्धि हुन कठिन हुने बताए । सरकारले केही गर्न खोजे पनि विगतमा नै धेरै काम गर्न नसकेको कारण पर्याप्त नभएको समेत उल्लेख गदैै उनले भने, ʽनेपालको विकासको लागि सबै विकल्पहरू खुला गर्नुपर्छ ।ʼ

बैंकको बुधबार प्रकाशित प्रतिवेदनमा व्यवसाय गर्न सहज १९० देशहरूको सूचीमा नेपाल ११० औं स्थानमा परेको उल्लेख छ । अर्थमन्त्री खतिवडाले आफ्नो श्वेतपत्रमा तत्कालीन अवस्थामा नेपाल डुइङ बिजनेसमा १०५ औं स्थानमा रहेकोमा उनले खराब स्थिति रहेको ब्याख्या गरेका थिए । तर, उनी सरकारमा आएपछि झन नेपालको स्थिति अझ ५ स्थान खस्किएर ११० औंमा झरेको छ । सरकार निजी क्षेत्रसँग सहकार्य गरेर तीब्र रूपमा आर्थिक विकास गर्नेमा सरकार क्रियाशील रहेको उनले बताए ।