धितोपत्र बोर्ड बोल्यो : अफवाह फैलाउने काम भएको छ, हल्लाको भरमा लगानी नगर्नुस् |
काठमाडौं । लामो समयपछि नेपाल धितोपत्र बोर्डले एक विज्ञप्ति जारी गर्दै लगानीकर्ताहरूलाई दोस्रो बजारमा लगानी गर्दा हल्लाको भरमा नगर्न आग्रह गरेको छ । केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा बिनाआधार शेयर बजार घटबढ हुने धारणा सार्वजनिक हुन थालेपछि सचेत गराउन धितोपत्र बोर्डले त्यस्तो आग्रह गरेको हो ।
बोर्डका प्रवक्ता निरज गिरीले भने, ‘पछिल्लो समय शेयर बजारमा सूचिकृत कम्पनीहरूको समग्र वित्तीय अवस्था राम्रो भए पनि अब बजार बढ्नै नसक्ने, लगानी नगर्नुहोस्, फस्नुहोला भन्नेजस्ता सामग्री सञ्चारमाध्यममा आउन थालेका छन् । यस्ता सामग्री आउने क्रम बढेको बेला बोर्ड त्यत्तिकै हेरेर बस्दैन, लगानीकर्तालाई सचेत बनाउन यस्तो सार्वजनिक सूचना जारी गर्नुपरेको हो ।’
बोर्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘देशमा राजनीतिक स्थायित्व देखिएको छ । चालू आर्थिक वर्षको बजेटमा शेयर बजारलाई पनि सम्बोधन गरिएको छ । भ्याटको विवाद समाधान भएको छ । शेयर बजारमा सबै समूहको उपस्थितिका लागि १ अर्बका जुनसुकै कम्पनीलाई अनिवार्य शेयर निष्कासन गर्ने व्यवस्था गरिएको छ । डराउनुपर्ने अवस्था छैन ।’
बजारलाई असर पार्ने कुनै पनि नीतिगत व्यवस्था नभएको तथा बजार घट्ने कुनै पनि व्यवस्था नभएको अवस्थामा बजारप्रति अफवाह फैलाउने काम भएको प्रवक्ता गिरिले बताए । हकप्रद र बोनस शेयरका आधार मूल्यमा पूँजीगत लाभकरको निर्णय पनि अन्तिम टुंगोमा पुगेको उनले जानकारी दिए ।
शेयर बजारको विकासका लागि प्राइभेट इक्विटी, भेञ्चर फण्ड र हेज फण्डको प्रवेशका लागि आवश्यक नियमावली मन्त्रालय पठाइएको र यो निकट भविष्यमै कार्यान्वयनमा आउने भएकाले शेयर बजारको थप सुधार हुने उनले जानकारी दिए । उनका अनुसार पछिल्लो समय शेयर बजारमा सूचीकृत कम्पनीहरूले राम्रो नाफा आर्जन गरेका छन् । साथै, लाभांश घोषणा गर्ने क्रम पनि बढेको छ । शेयर बजारका सबै कुराहरू सकारात्मक हुँदाहुँदै पनि बजारप्रति भ्रम फैलाउने काम भएको छ ।