अरुण भ्याली हाइड्रोपावरको नाफा बढ्यो |
काठमाडौं ।अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा बढेको छ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ७ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.१० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको विद्युत बिक्री आम्दानीसँगै अन्य आम्दानी बढेपछि खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २.११ प्रतिशत बढेको छ भने कुल आम्दानी १७.१० प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको सञ्चालन मुनाफा १३.८६ प्रतिशत बढेको छ।
खुद नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ४ रुपैयाँ ९७ पैसा घटेर ८ रुपैयाँ ६६ पैसामा झरेको छ। चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा कम्पनीको यस्तो आम्दानी घट्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ७३.२५ प्रतिशत बढेको छ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोष ६.३३ प्रतिशत घटेको छ। कम्पनीको मूल्य आम्दानी अनुपात ५७.८२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ ८२ पैसा रहेको छ।