चिलिमेको नाफा २.२४ प्रतिशतले बढ्यो |
काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा सामान्य बढेको छ।
कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४० करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.२४ प्रतिशतमात्र बढी हो। कम्पनीको विद्युत बिक्री आम्दानी घटेपनि वित्तीय आम्दानी बढेका कारण खुद नाफा सामान्य बढ्न पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी २.३५ प्रतिशत घटेको छ। त्यसैगरी, कम्पनीको सञ्चालन मुनाफा ५.६० प्रतिशत घटेको छ भने वित्तीय आम्दानी ७५.५४ प्रतिशत बढेको छ। चुक्ता पूँजी साढे ७ प्रतिशत बढाएको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ७.६४ प्रतिशत घटेको छ।
नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी घटेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १२ रुपैयाँ ५० पैसा रहेको कम्पनीको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर ११ रुपैयाँ ८९ पैसामा झरेको छ। सो अवधिसम्ममा कम्पनीको मुल्य आम्दानी अनुपात ४१.४७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ५७ पैसा रहेको छ।